बुटवल,फागुन २७ -
बुटवलमा प्रथम रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७७ विहिबारदेखि सुरु भएको छ । ‘महिला सशक्तिकरणका लागि खेलकूद’ भन्ने मूल नारासहित फुटसल प्रतियोगिता शुरू भएको हाे ।
प्रतियोगिता रेडियो मुक्तिले आयाेजना गरेको हाे ।उद्घाटन खेलमा पत्रकार महिला समूह विजयी भएको छ । मैत्रीपूर्ण फुटसल प्रतियोगिता अन्तर्गतको मैत्रीपूर्ण खेलमा महिला पत्रकार समूहले एकल महिला समूहलाई २–१ गोल अन्तरले पछि पार्दै विजयी भएकोे हो ।
पत्रकार महिला समूहकातर्फबाट कमला अर्यालले २ गोल गरिन्। खेलको पहिलो हाफमा एकल महिला समूहकी रिता सेनले गोल गर्दै अग्रता कायम गरे पनि दोस्रो हाफमा फितलो प्रदर्शनका कारण पराजय व्यहोर्नु पर्याे ।
रेडियो मुक्तिसहित एकल महिला समूह, पत्रकार महिला, अधिवक्ता महिला, सामाजिक अभियान्ता, सहकारी महिला समूह, उद्यमी महिला समुह, कर्मचारी महिला समुह, निजामति कर्मचारी महिला समुह, स्वास्थ्यकर्मी महिला तथा राजनीतिक तथा सांसद महिलाहरु गरी १० टिम सहभागि छन् ।
प्रतियोगिताको विजेताले नगद १० हजार ५ सय पुरस्कार राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी उपविजेता टिमले नगद ५ हजार पुरस्कार राशी प्राप्त गर्ने कार्यक्रम संयोजक अमृता अनमोलले जानकारी दिइन् ।
विहिबार प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकूद विकास परिषदका सदस्य सचिव रमेश सिलवालले खेलको माध्यमबाट महिलाहरु बीच सशक्तिकरण र आपसी सद्भाव कायम राख्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले प्रतियोगिताले आपसी सद्भाव बढाउने बताए ।
रेडियो मुक्तिकी स्टेशन म्यानेर कल्पना तिवारीको सञ्चालन भएको उद्घाटन समारोहमा पूर्व अध्यक्ष सावित्रा अर्यालले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
प्रतियोगिताका बाँकी खेल शनिबार बुटवल–११ देविनगरको ग्रिन फुटसल ग्राउण्डमा हुनेछन् । प्रतियोगितामा ग्लोबल आवाज अनलाइन,राज्य टेलिभिजन र बुटवल टुडे राष्ट्रिय दैनिक मिडिया पार्टनर छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)