बुटवल,फागुन २४-
मानवअधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बिच भएको सम्झौतामा हतियारको बिषय नै उल्लेख नहुनुमा शंका उब्जिएको बताएका छन् ।
उनले दुवै पक्षले सम्झौतालाई रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने बताए ।तीनबुदे सहमति शंकाको घेरामा रहेको रहेको उनको भनाइ छ ।
मानव अधिकार तथा शान्ति समाज नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित सभापति खनालले सहमतिमा हतियार व्यवस्थापनको कुरा प्रष्ट हुनुपर्ने बताए ।
उनले भने—‘सहमति सकारात्मक हो,तर हतियारको बारेमा किन बोलिएन,त्यसैले नागरिक सशंकित छन्,सहमतिलाइ दुबैपक्षले रणनैतिक रुपमा प्रयोग गर्न खोजेमा दुर्भाग्यपूर्ण हुने छ ।’
खनालले हिंसाको राजनीतिको भविष्य नभएको प्रष्ट पारे । पोखरामा फागुन २१ र २२ गते भएको राष्ट्रिय परिषद बैठकले बिभिन्न ८ वटा बुदाहरु पारित गरेको उनले बताए ।
प्रतिनिधिसभा बिघटन अलोकतान्त्रिक,अदालतले पुर्नस्थापना गरेकोमा धन्यबाद,छोरी पढाऔं अभियान,लागु औषध बिरुद्धको अभियान,सीमा अतिक्रमण बिरुद्धको अभियान ,आणबिक अस्त्र बिरुद्धको अभियान संचालन ,समाजको भवन वा जग्गा खरिदगर्ने लगायतका एजेन्डा पास भएकोे उनले बताए ।
खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक ढंगले हिडीरहेको टिप्पणी गरे ।लोकतन्त्र, प्रेस स्वतन्त्रता र मानवअधिकार कमजोर बनाउन हुने जुनसुकै प्रयासविरुद्ध शान्ति समाज उभिने र त्यस्ता प्रयास असफल बनाउने उनले जानकारी दिए ।
मानवअधिकार तथा शान्ति समाजका रुपन्देही सभापति धनपति खनाल (डीपी)को अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सचिब मिना ढकालले स्वागत तथा रुपन्देही शाखा सचिव कपिल ज्ञवालीले संचालन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)