बुटवल,फागुन १८ -
प्रतिनिधिसभाको फागुन २३ गते बस्ने बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठक कक्षको तयारीको अवस्थाबारे अवलोकन गर्न संसद भवन नयाँ बानेश्वर पुगेका उनले संबद्ध सबै पक्षसँग छलफल गरेर बैठकलाई अगाडि बढाउने बताएका हुन् ।
बैठक कक्षको व्यवस्थापनको अवलोकनपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसला खुसी र गौरवको विषय भएको र संसद अधिवेशनलाई स्वभाविक लयमा सञ्चालन गर्ने बताए । केही समय संसद अवरुद्ध भएकोले खल्लो महशुस भएपनि अहिले सबैमा उत्साह जागेको उल्लेख गरे ।
प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा बुधबारदेखि शुक्रबारसम्म संघीय संसदका सबै सांसदहरु तथा कर्मचारीहरुलाई कोरोनाविरुद्धको भ्याक्सिन समेत लगाइँदैछ ।
राजनीतिक रुपमा दुई धारमा नेकपा विभाजन भएपनि कानुनी रुपमा नहुँदा आगामी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओली पक्षीय नेकपा र प्रचण्ड–नेपाल पक्ष नेकपाबीच रस्साकस्सी हुने निश्चित देखिन्छ ।
प्रचण्ड–नेपाल पक्ष नेकपाले प्रतिनिधिसभा बैठक सञ्चालनसँगै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेबारे गृहकार्य गरिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)