बुटवल,फागुन १०-
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यबसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताउनु भएको छ ।
मुलुकको अर्थतन्त्रको सुचकांक जिडिपीलाई १० प्रतिशत भन्दा माथि पु¥याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उहाँले जानकारी गराउनु भयो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सिएनआई लगायतका अरु संस्थाहरुसंग समेत छलफल भईरहेको जानकारी गराउनु भयो ।
आफ्नो नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिबृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको जानकारी गराउनु भयो ।
महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यबसायिक संस्थाहरु बिच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यबसायको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै उहाँले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै बिशेषगरी बैंकिङ्, राजश्व, श्रमको समस्यामा परेका व्यबसायीहरुलाई राहतको काम गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्स केन्द्रले उद्योग व्यबसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्बोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्धा सर्बोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गर्नुभयो ।
उहाँले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याउनु भयो । त्यस्तैगरी लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले प्रदेशमै उद्योग दर्ता गर्ने भएपछि दर्ताको संख्या प्रयाप्त भएपनि उद्योग सञ्चालन हुन नसकेको बताउँदै त्यसका समस्या के हुन् सुझाव दिन आग्रह गर्नुभयो ।
सरकार निजी क्षेत्रसंग सहकार्य गर्न तयार रहेको बताउँदै उहाँले उद्योग व्यबसायका समस्या के छन्, त्यसलाई कसरी समाधान गर्न सकिन्छ ? संगै बसेर छलफलको लागि समेत आफू तयार रहेको बताउनु भयो । उपाध्यक्ष गौतमले उद्योगी व्यबसायीका समस्या समाधानको लागि व्यबसायी र संघीय सरकारको बिचमा मध्यस्थता गर्दै आएको बताउँदै समस्या समाधानको लागि व्यबसायिक संस्थाहरुले समेत पहलकदमी गर्न आग्रह गर्नुभयो ।
उहाँले मोतिपूर औद्योगिक क्षेत्र निर्माणको काम चालु हप्तादेखि नै सुरु हुने जानकारी गराउँदै बुटवल–पाल्पा सडक खण्डमा पर्ने दोभान क्षेत्रको समस्या समाधानको लागि प्रदेश सरकारले प्लानिङ् गरेको र त्यसलाई संघीय सरकारमा पहल भईरहेको समेत जानकारी गराउनु भयो ।
त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले सरकारको अस्थिरताको कारण निजी क्षेत्रका समस्या जस्ताको त्यस्तै रहेको बताउँदै मुलुकको अर्थतन्त्र सुदृढीकरणको लागि सरकार निजी क्षेत्र मैत्री हुनु पर्ने र लगानीमैत्री वातावरण बनाउनु पर्ने भनाई राख्नुभएको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष कृष्णकुमार शर्मा, संघका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाली काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले यस क्षेत्रका उद्योगी व्यबसायीले भोग्नु परेका समस्या राख्दै समाधानको लागि सरकारसंग आग्रह गर्नुभएको थियो ।
संघका वरिष्ठ उपाध्यक्ष उज्वल कसजुले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव दिनेशप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष हिराप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघका पूर्व अध्यक्ष श्रेष्ठले संघको श्रीबृद्धिमा पु¥याएको योगदानको उच्च मुल्यांकलन सहित ६८ औं स्थापना दिवसमा सम्मान गरिएको हो ।
२०१० साल फागुन १० गते स्थापना गरिएको बुटवल उद्योग बाणिज्य संघको सोमबार भएको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनको उद्घाटन समारोहमा पूर्व अध्यक्ष श्रेष्ठकी धर्मपत्नी सीतादेवी कदर पत्र प्रदान गरिएको हो ।
उहाँलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । साधारण सदस्यबाट उद्योग बाणिज्य संघमा प्रवेश गर्नुभएका श्रेष्ठ कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव हुँदै २०४८ देखि ०५३ सम्म दुई कार्यकाल अध्यक्ष भएर संघको नेतृत्व सम्हाल्नु भएको थियो ।
त्यसै अवसरमा संघले प्रत्येक तीन वर्षमा प्रदान गर्दै आएको आर्थिक पत्रकारिता पुरस्कार यो वर्ष युवा पत्रकार कपिल ज्ञवालीलाई प्रदान गरिएको छ ।
आर्थिक बिकासको क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मानको लागि स्थापना गरिएको उक्त पुरस्कार रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकार ज्ञवालीलाई प्रदान गरिएको हो । उहाँलाई नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कदर पत्र सहित दोसल्ला आढाएर उक्त पुरस्कार प्रदान गर्नुभएको हो । सो पुरस्कारको राशी २५ हजार रुपैंया रहेको छ ।
त्यस्तैगरी संघले संस्थागत रुपमा बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिक पत्रिकालाई सम्मान गरेको छ । यसै अवसरमा संघले उद्योग, व्यापार, कृषि, सेवा क्षेत्र र महिला गरी ५ विधामा उत्कृष्ट उद्योगी व्यबसायीलाई समेत सम्मान गरेको छ ।
संघले उद्योग तर्फ बुटवल उपमहानगरपालिका ५ ट्राफिकचोकको ब्लाक फरेष्ट, बाणिज्य तर्फ बुटवल ११ कालिकानगरको जयकृष्ण ट्रेडिङ्, बुटवल ५ अमरपथको एच आई ट्रेनिङ् सेन्टर, सेवातर्फ बुटवल ९ को क्लव डेनोभो, कृषितर्फ सियारी गाउँपालिका छपियाको द सिल्भर ग्रीन फिसरी एण्ड एग्री कल्चर र महिलातर्फ बुटवल ९ सितलकुञ्जको इन्टरटेक प्रा.लि.लाई सम्मान गरिएको हो ।
आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्ने पत्रकार छनौटको लागि पूर्व अध्यक्ष अर्जुनमान सैंजु र उद्योगी व्यबसायी सम्मानको लागि पूर्व अध्यक्ष नवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसै अवसरमा संघका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । संघको स्थापना दिवसकै अवसरमा बुटवल माध्यमिक बिद्यालयलाई १० थान डेस्कबेन्च प्रदान गरिएको छ ।
याे पनि :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)