बुटवल,फागुन ५ -
बुटवलमा उपमहानगरपालिकामा दोश्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता हुने भएको छ । बुटवल नगर खेलकुद विकास समितिको आयोजनामा हुने राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता फागुन ७ गतेदेखि १० गतेसम्म चल्ने छ ।
प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले बुधवार आयोजित पत्रकार भेटघाटमा नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउछाले प्रतियोगिताको तयारी पुरा भएको र धेरैभन्दा धेरै विद्यालय र विद्यार्थीको सहभागिता रहने बताउनुभयो ।
नगर खेलकुद विकास समितिको गठनपछि बुटवलभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुलाई समेत राष्ट्रपति रनिङ शिल्डमा हुने विभिन्न खेलकुदबारे प्रशिक्षण दिईएकोले यसवर्ष सहभागि विद्यालय र विद्यार्थी संख्या बढेको उहांले बताउनुभयो ।
बुटवल ११ देविनगरस्थीत एन्फा एकेडेमीको खेल मैदानमा हुने प्रतियोगिता अन्तर्गत नगरका संस्थागत र सामुदायिक गरि ३० विद्यालयको सहभागिता रहने काउछाले जानकारी दिनुभयो ।
कुल १ हजार ३ सय ३४ विद्यार्थी सहभागि रहने प्रतियोगितामा ४२ स्वर्ण, ४२ रजत र ४२ कास्य पदकका लागि प्रतिष्प्रधा हुनेछन् ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय हुंदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको नगर खेलकुद विकास समितिका सदस्य सचिव विष्णुहरी ज्ञवालीले जानकारी दिनुभयो । प्रतियोगितामा एथ्लेटिक्स, रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल,कबड्डी, करांते, तेक्वाण्डो लगायतका प्रतियोगिताहरु हुनेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)