बुटवल ,असोज २२ ।
बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको आगामी नेतृत्वका लागि टंकप्रसाद गैरेको नेतृत्वमा संयुक्त प्यानल घोषणा भएको छ ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी संघको आगामी ३ बर्षे कार्यकालका लागि व्यवसायी टंकप्रसाद गैरेको नेतृत्वमा संयुक्त प्यानल घोषणा गरीएको हो ।
वरिष्ठ उपाध्यक्षमा विमलराज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा जमुना पौडेल, सचिवमा काशीराम शर्मा पौडेल, कोषाध्यक्षमा टिकाराम बञ्जाडे र सह–कोषाध्यक्षमा जाकिर हुसेन उम्मेदवार रहेका छन् ।
यसैगरी, एसोसिएट सदस्यमा बालकृष्ण पौडेल उम्मेद्वार रहेका छन् भने उद्योगतर्फका ४ सदस्यमा दीपक बास्तोला, गोपाल टण्डन, प्रविण गोविन्द श्रेष्ठ, सुनिता अर्याल रहेका छन् ।
वाणिज्यतर्फ मनिष कुमार हयोजु, मिलनकुमार भारी, राजेश भट्टराई, सुनिता गिरी सदस्य रहेका छन् । यस्तै, महिला सदस्यतर्फ सुकमाया श्रेष्ठ ध्वजु (सीता), सुष्मा केसी रहेका छन् । खुल्ला सदस्यतर्फ विजयकुमार वर्णवाल, ज्ञानप्रसाद खनाल, गणेश प्रसाद सेढाईं, जनक श्रेष्ठ, गोपाल बस्याल, सुशील प्रसाद श्रेष्ठ र ठाकुर घिमिरे चुनावी प्रतिस्पर्धामा छन् ।
अध्यक्षका उम्मेदवार गैरेले आफ्नो जीवनको झण्डै दुई दशक उद्योग वाणिज्य संघमा बिताएकाले यो अधिवेशनबाट व्यवसायीहरूले नेतृत्वमा पुर्याउने विश्वास व्यक्त गरे । गैरेले आफू व्यवसायीहरूकै बिचबाट आएको बताउँदै अग्रजहरूको आशीर्वाद र सहकर्मीसँगको छलफलपछि मात्रै मैदानमा आएको बताए ।
तीन वर्षअघि वर्तमान अध्यक्ष हरिप्रसाद अर्यालसँग पराजित भएका व्यवसायी दिनेशप्रसाद श्रेष्ठले उनलाई दरिलो साथ दिएका छन् । श्रेष्ठ नै गैरेको चुनावी कमान्डरका रूपमा उभिएका छन् ।
गैरे यस क्षेत्रका पुराना व्यवसायीमध्ये पर्छन् ।
संयुक्त प्यानलले सम्पूर्ण उद्योगी–व्यवसायीको हित र समृद्धिलाई प्राथमिकतामा राख्दै १० बुँदे प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)