बुटवल, ५ भदौ ।
रुपन्देहीको बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट माविका विद्यार्थीहरुले जनमुखि काम गर्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
जनताको प्रतिनिधीबाट चुनिएको सरकारले जनताकै काम गर्नु पर्ने उल्लेख गर्दै मावि तहका विद्यार्थीहरुले सरकारको काम राज्य संचालन गर्ने मात्र होईन जनताका भवना पनि बुझ्ने हुनु पर्ने बताए । उनीहरुले सभामुख मार्फत सरकारलाई जवाफदेही बन्न ध्यानाकर्षण गराएका हुन् ।
शुक्रबार विद्यालयमा भएको संघीय एभरेष्ट नमुना युवा संसद कार्यक्रममा सहभागि विद्यार्थी सांसदहरुले शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास, सुशासनका मुद्धामा सरकार चुकेको भन्दै सरकारको खवरदारी समेत गरे ।
कक्षा–८, ९ र १० का एकसयबढी विद्यार्थीहरु सहभागि भएको नमुना संसद कार्यक्रममा शुन्य र विशेष समयमा आफ्ना भनाइ राख्ने विद्यार्थी सांसदहरुले देशमा भएको महंगी, भ्रष्टाचार, बलत्कारलगायतका विषयलाई सरकारले सम्वोधन गर्न नसकेको भन्दै दुख ब्यक्त गरे । उनीहरुले जनताबाट चुनिएका जनप्रतिनिधीले बनाएका प्रधानमन्त्री, मन्त्रीहरुले जनताकै पिर मर्का बुझेर काम गर्नु पर्ने सुझाव सभामुख मार्फत सरकारलाई सुनाएका थिए ।
विद्यार्थी बिराट भण्डारीले सभामुखको भुमिका निर्वाह गर्नु भएको कार्यक्रममा प्रत्युस क्षेत्रीले प्रतिपक्ष दल नयाँ पुस्ता पार्टीतर्फदेखि विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । शिक्षक मोहन पाण्डेयले संयोजन गर्नु भएको नमुना सांसद कार्यक्रममा विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले विद्यार्थीलाई संसदीय अभ्यासका बारेमा प्रत्येक्ष जानकारी गराउन कार्यक्रम फलदायी भएको बताउनुभयो ।
कार्यक्रममा सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी, शिक्षक सरु पाण्डेलगायतले विद्यार्थीलाई संसदको अभ्यास, विधेयक, कानुन र संसदमा सभामुख र सांसदका पदीय मर्यादा, मर्यादा पालकको काम कार्वाहीलगायतका विषयमा जान्न अवसर मिलेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)