बुटवल,भदौ ३ ।
सिद्धार्थ राजमार्ग बुधबार बिहानदेखि अवरुद्ध भएको छ । तिनाउ–३, स्थित सिद्धबाबा सुरुङ मार्ग क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।
पाल्पातर्फको सुरुङमार्गको एक सय मिटर नजिकै माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार माथिबाट अहिले पनि पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो नरोकिदासम्म सडक खुलाउन समस्या भएको छ ।
पहिरो रोकिएपछि सडक खुलाउने काम सुरु गरिने उहाँले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा बुटवलबाट पाल्पातर्फ आउने र पाल्पाबाट बुटवलतर्फ जाने सयौँ सवारीसाधनबिच बाटोमै रोकिएका छन् । पहिरो हटाएपछि दुईतर्फी नै सडक जाम नहुने गरी अहिले विभिन्न स्थानमा सवारीसाधनलाई रोक्ने काम ट्राफिक प्रहरीले गरिरहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)