Logo बिहिवार, आश्विन १ गते २०८३
images

गजेन्द्रनारायण अस्पतालबाट एक वर्षमा ३५ हजार ८६२ जनाले लिए स्वास्थ्य सेवा

गजेन्द्रनारायण अस्पतालबाट एक वर्षमा ३५ हजार ८६२ जनाले लिए स्वास्थ्य सेवा

  • 705
    SHARES

  • गजेन्द्रनारायण अस्पतालबाट एक वर्षमा ३५ हजार ८६२ जनाले लिए स्वास्थ्य सेवा

    राजविराज, भदौ १ गते ।

    सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत एक वर्षमा ३५ हजार ८६२ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालले स्वास्थ्य बिमासँगै सामाजिक सेवा इकाइमार्फत विपन्न तथा लक्षित वर्गलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रकुमार मण्डलका अनुसार आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ३५ हजार ८६२ जनाले सेवा लिएका हुन् । स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेकाले उपचारका लागि आउने सर्वसाधारणको आर्थिक भार कम गर्न सहयोग पुगेको उहाँले बताउनुभयो ।

    अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख सूर्यकान्त झाले स्वास्थ्य बिमासँगै सामाजिक सेवा इकाइमार्फत पनि विपन्न तथा लक्षित वर्गका नागरिकलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । अस्पतालमा सुलभ फार्मेसी सेवासमेत सञ्चालनमा रहेको छ ।

    अस्पतालले आर्थिक वर्ष २०८२/८३ मा बहिरङ्ग (ओपीडी) सेवाबाट ६९ हजार ९२७, आकस्मिक सेवाबाट ११ हजार ६०० र अन्तरङ्ग (इन्डोर) सेवाबाट चार हजार २८२ जनालाई सेवा दिएको छ । उक्त अवधिमा अस्पतालबाट सेवा लिने बिरामीको कुल सङ्ख्या ८५ हजार ८०९ पुगेको अस्पतालले जनाएको छ ।

    अस्पतालमा मेडिसिन, बालरोग, अर्थोपेडिक, स्त्री तथा प्रसूति, सर्जरी, दन्त, छाला, नाक–कान–घाँटी, फिजियोथेरापी तथा नेत्ररोगसम्बन्धी गरी नौ विभागका सेवा सञ्चालनमा रहेको प्रमुख मण्डलले बताउनुभयो ।

    सामाजिक सेवा इकाइ प्रमुख झाले प्रयोगशालाअन्तर्गत ओपीडी तथा आकस्मिक प्रयोगशाला, रेडियोलोजीअन्तर्गत एक्स–रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड तथा ईसीजी सेवा उपलब्ध रहेको जानकारी दिनुभयो ।

    अस्पतालमा २० शय्याको आकस्मिक कक्ष, १२ शय्याको एचडीयु, चार शय्याको एसएनसियु तथा विभिन्न वार्डसहित कुल १२८ शय्याबाट सेवा प्रदान हुँदै आएको छ । मेडिकल वार्डमा २४ शय्या, जेरियाट्रिकसहित बालरोग वार्डमा १३ शय्या, स्त्री तथा प्रसूति वार्डमा १३ शय्या, सर्जिकल वार्डमा १२ शय्या तथा ओटी पोस्टअप वार्डमा १० शय्या सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

    उक्त आर्थिक वर्षमा अस्पतालबाट एक हजार ७३४ जनाले सामान्य प्रसूति र ६९९ जनाले शल्यक्रियामार्फत प्रसूति सेवा लिएका छन् । यसैगरी पोषण पुनर्स्थापना केन्द्रबाट १८७ जना तथा डायलाइसिस सेवाबाट ७७ जना बिरामीलाई गरी चार हजार ३४३ पटक सेवा प्रदान गरिएको छ ।

    अस्पतालको तथ्याङ्कअनुसार एचडीयुबाट ५६१ जना (पुसदेखि असारसम्म), एसएनसियुबाट १६९ जना, सामाजिक सेवा इकाइबाट दुई हजार ८३३ जना तथा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट ५०० जनाले सेवा लिएका छन् । परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवाबाट दुई हजार ६३७ जनाले सेवा पाएका छन् ।

    त्यसैगरी अस्पतालको प्रयोगशालाबाट ४२ हजार ७९८, एक्स–रे सेवाबाट २४ हजार १३०, अल्ट्रासाउन्डबाट १५ हजार ७३८ तथा सिटी स्क्यानबाट दुई हजार ६५९ पटक सेवा प्रदान गरिएको छ । एआरटी केन्द्रबाट १६९ जनाले सेवा लिएका छन् ।

    अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बिमा, सामाजिक सेवा तथा अन्य सहुलियतपूर्ण कार्यक्रमलाई प्रभावकारी बनाउँदै सर्वसाधारणको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने प्रयास भइरहेको छ । स्वास्थ्य बिमा कार्यक्रमको उपयोग बढ्दै जाँदा उपचार खर्चका कारण स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने अवस्था कम गर्न सहयोग पुगेको अस्पतालले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, भाद्र १ २०८३११:४१:१९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology