बुटवल,साउन १९ ।
बुटवलमा स्थानीय तह, नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा निर्माण सम्पन्न भएको अस्थायी प्रहरी विटको उद्घाटन गरिएको छ।
समुदायमा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा प्रहरी–नागरिक सम्बन्धलाई अझ सुदृढ गर्ने उद्देश्यका साथ निर्माण गरिएको प्रहरी विटले स्थानीय सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
निर्माण समिति अध्यक्ष प्रदीप शाक्यको अध्यक्षतामा आयोजित कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खेलराज पाण्डेले समुदायको सुरक्षा सुदृढ बनाउन बुटवल उपमहानगरपालिकाले नेपाल प्रहरीसँग आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रहरी विटले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता र स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो।
उपप्रमुख सावित्रा अर्याल,एसपी जनकबहादुर शाही, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले समुदाय–प्रहरी साझेदारीलाई थप सुदृढ बनाउन यस्ता पूर्वाधार अत्यन्त आवश्यक रहेको धारणा राख्नुभयो। उहाँहरूले नागरिकको सुरक्षा, अपराध न्यूनीकरण तथा जनविश्वास अभिवृद्धिमा प्रहरी विट प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।
निर्माण समिति अध्यक्ष शाक्यका अनुसार करिब ७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त अस्थायी प्रहरी विट स्थानीयवासी तथा विभिन्न सहयोगदाताको आर्थिक र भौतिक सहयोगबाट सम्पन्न भएको हो।
विशेष रूपमा प्रहरी हवल्दार तथा सोही प्रहरी विटका इन्चार्ज कुलचन्द्र पोखरेलको सक्रिय पहल र समन्वयमा विट निर्माण कार्य सम्पन्न भएको बताइएको छ। स्थानीयवासी, जनप्रतिनिधि र नेपाल प्रहरीबीचको सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा यस परियोजनालाई लिइएको छ।
कार्यक्रममा सहभागीहरूले समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै सुरक्षित, व्यवस्थित र अपराधमुक्त समाज निर्माणमा अस्थायी प्रहरी विटले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)