बुटवल, साउन ६।
रोटरी क्लब अफ लुम्बिनी स्टार्सको ८औँ पदस्थापन समारोह तथा १४८औँ नियमित बैठक आइतबार बुटवलमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का डिजी इलेक्ट इश्वरी प्रसाद ढकालले रोटरी वर्ष २०२५/२६ का अध्यक्ष बिमल ढकालबाट रोटरी वर्ष २०२६/२७ का नवनिर्वाचित अध्यक्ष बालकृष्ण पोखरेललाई पद तथा जिम्मेवारी हस्तान्तरण गराउँदै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले रोटरी विश्वकै सबैभन्दा ठूलो सेवामूलक संस्थामध्ये एक भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, शान्ति प्रवर्द्धन, मातृ तथा शिशु स्वास्थ्य, खानेपानी र सरसफाइलगायतका क्षेत्रमा रोटरीले विश्वभर उल्लेखनीय योगदान पुर्याउँदै आएको बताए। उनले नयाँ नेतृत्वले रोटरीको मूल मर्म ‘सेवा स्वयंभन्दा माथि’ (Service Above Self) लाई आत्मसात गर्दै समाज रूपान्तरणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। साथै क्लबहरूबीच सांस्कृतिक आदान–प्रदान, अन्तर्राष्ट्रिय मित्रता, युवा नेतृत्व विकास, रोटरी एक्सन ग्रुपमा सहभागिता तथा सदस्य विस्तारमा विशेष ध्यान दिन आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष बालकृष्ण पोखरेलले आफ्नो कार्यकालको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै रोटरी डिष्ट्रिक्टको लक्ष्यअनुसार वृक्षारोपण, शैक्षिक सहयोग, स्वास्थ्य शिविर, वातावरण संरक्षण, सरसफाइ, रक्तदान, विपन्न समुदायलाई सहयोग तथा समुदाय केन्द्रित दीर्घकालीन सेवा परियोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए। क्लबलाई सामाजिक उत्तरदायित्व निर्वाहमा अझ सक्रिय, प्रभावकारी र उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
निवर्तमान अध्यक्ष बिमल ढकालले आफ्नो कार्यकालमा सम्पन्न भएका सेवा कार्यक्रम, सदस्यता विस्तार तथा संस्थागत उपलब्धिबारे जानकारी गराउँदै क्लबको सफलतामा योगदान पुर्याउने पदाधिकारी, सदस्य तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरे। उनले कार्यकाल सफल बनाउन सहयोग गर्ने व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरी सम्मानसमेत गरेका थिए।
कार्यक्रममा असाइन्ड एजी नुमलाल पौडेल, जीएसआर एजाज आलम, डिष्ट्रिक्ट कमिटी चेयर राजेन्द्र ढकाल, क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी, पूर्वअध्यक्ष बालकृष्ण पाण्डेय, डिष्ट्रिक्ट एडभाइजर काउन्सिल चेयर आर.सी. आचार्य, पीडीडीआर विक्रम क्षेत्री तथा रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष अनिस ढकाललगायतले क्लबले छोटो समयमै सेवामूलक गतिविधि, सदस्यहरूको सक्रियता र निरन्तर मेहनतका कारण छुट्टै पहिचान बनाउन सफल भएको उल्लेख गरे। आगामी दिनमा पनि एकताबद्ध भएर शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक विकासका क्षेत्रमा थप प्रभावकारी तथा रचनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनीहरूले जोड दिए।
समारोहमा रोटरी परिवारका सदस्य, विभिन्न क्लबका प्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सोही अवसरमा क्लबको इतिहास, गतिविधि, सदस्य परिचय तथा उपलब्धिहरू समेटिएको क्लब डाइरेक्टरी सार्वजनिक गरिएको क्लबका सचिव योगेन्द्र कँडेलले जानकारी दिए। उनले डाइरेक्टरीले क्लबका गतिविधिलाई अभिलेखीकरण गर्नुका साथै आगामी योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)