Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अक्सफोर्ड माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

अक्सफोर्ड माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

  • 207
    SHARES

  • अक्सफोर्ड माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत

    बुटवल ,साउन ३ ।
    अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने उद्देश्यले भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ।
    कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल लगायत सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक, व्यवस्थापक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अक्सफोर्डले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाउँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको बताउनुभयो।

    उहाँले मेहनत, अनुशासन, सकारात्मक सोच र निरन्तर प्रयासका माध्यमबाट विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रालाई सफल बनाउनुपर्नेमा जोड दिँदै विद्यालयले शैक्षिक उत्कृष्टतासँगै नेतृत्व क्षमता, व्यक्तित्व विकास र नैतिक मूल्यको प्रवर्द्धनलाई पनि समान प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

    त्यसैगरी, विद्यालयका प्राचार्य तथा हिसान केन्द्रीय सदस्य दिनेश भुसालले नवआगन्तुक विद्यार्थीहरूलाई विद्यालय परिवारमा हार्दिक स्वागत गर्दै अक्सफोर्डले विद्यार्थीको उज्ज्वल भविष्य निर्माणलाई केन्द्रमा राखेर आधुनिक, व्यावहारिक तथा नतिजामुखी शिक्षण प्रणाली अवलम्बन गरिरहेको बताउनुभयो। उहाँले विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धिसँगै अनुशासित, नैतिक, जिम्मेवार र सामाजिक उत्तरदायित्व बोध भएका सक्षम नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शिक्षण–सिकाइ गतिविधिहरू सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो।
    यसैगरी, प्राध्यापक सुमन भुसालले विद्यार्थी जीवन भविष्य निर्माणको सबैभन्दा महत्वपूर्ण चरण भएकाले स्पष्ट लक्ष्य निर्धारण, नियमित अध्ययन, अनुशासन, समयको सदुपयोग र सकारात्मक सोचलाई जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयले उपलब्ध गराउने शैक्षिक तथा अतिरिक्त क्रियाकलापका अवसरहरूको अधिकतम सदुपयोग गर्दै ज्ञान, सीप र असल चरित्रले सम्पन्न जिम्मेवार नागरिकका रूपमा आफूलाई स्थापित गर्न विद्यार्थीहरूलाई प्रेरित गर्नुभयो।
    कार्यक्रममा उपस्थित अतिथिहरूलाई टीका तथा खादा लगाई सम्मान गरिएको थियो।

    नवआगन्तुक विद्यार्थीहरूको स्वागतलाई थप उल्लासमय बनाउन गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै, विद्यालयका पूर्व विद्यार्थी तथा चर्चित लोकदोहोरी गायिका रीतु थापाले आफ्नो आकर्षक सांगीतिक प्रस्तुतिमार्फत कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउँदै विद्यार्थी तथा प्राध्यापकहरूलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियो।
    कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्ययनरत विद्यार्थीद्वय विबेचना प्रसाई र श्रीसा न्यौपानेले संयुक्त रूपमा कुशलतापूर्वक गर्नुभएको थियो।

    कार्यक्रमले नवआगन्तुक विद्यार्थीहरूमा विद्यालयप्रति अपनत्व, उत्साह र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालय परिवारबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरिएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, श्रावण ३ २०८३०१:१८:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology