बुटवल,असार २७ ।
श्रमज्योति क्लब बुटवल ७ शिवनगरको आयोजनामा शिवनगर सामुदायिक वन क्षेत्रभित्र वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार क्लबका अध्यक्ष नारायण घिमिरेको अध्यक्षता एवम् बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न वृक्षारोपण कार्यक्रममा बुटवल वडा नम्बर ७ का वडा सदस्य सन्दिप खनाल निवर्तमान अध्यक्ष्य दिल बहादुर आचार्य सल्लाहकार एवम् विभिन्न टोल विकास संस्थाका अध्यक्ष, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र स्थानीयहरूको उपस्थिति रहेको थियो ।
क्लबका महासचिव कमल प्रकाश भुसालको सञ्चालनमा सम्पन्न औपचारिक कार्यक्रममा प्रमुख अतिथि पाण्डेले वृक्षारोपणले पर्यावरण संरक्षणमा ठुलो योगदान पुर्याउने उल्लेख गर्दै क्लब जस्तै अन्य सङ्घ संस्थाहरूले पनि यस्ता कार्यक्रमहरूको आयोजना गर्नुपर्ने उल्लेख गर्नुभयो ।
२०३७ सालदेखि सञ्चालित क्लबले सामाजिक तथा खेलकुदका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको र यसपटक वातावरण जगेर्ना गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लबका अध्यक्ष नारायण घिमिरेको भनाइ छ ।
गुलमोहर प्रजातिको फुलका सय बढी वृक्षहरू शिवनगर सामुदायिक वनको क्षेत्रभित्र रोपिएको र यसले वनमा पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याउने विश्वास गरिएको क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ओमप्रकाश अर्यालले उल्लेख गर्नुभयो । पछिल्लो समय शिवनगर वन पर्यटकीय गन्तव्यको रूपमा समेत विकसित हुँदै गएको छ ।
त्यहाँ स्थानीय र अन्य क्षेत्रका मानिसहरू समेत घुम्न भिडियोहरू बनाउन आउने गरेको अब पुष्परोपणपछि यो क्रम अझ बढ्न सक्ने विश्वास आयोजकले लिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)