Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुलेट बाइक ७५ हजारमा किनबेच भएपछि शुरु भयो प्रहरी अनुसन्धान,गिरोह नै फन्दामा!

बुलेट बाइक ७५ हजारमा किनबेच भएपछि शुरु भयो प्रहरी अनुसन्धान,गिरोह नै फन्दामा!

  • 183
    SHARES

  • बुलेट बाइक ७५ हजारमा किनबेच भएपछि शुरु भयो प्रहरी अनुसन्धान,गिरोह नै फन्दामा!

    बुटवल,असार २५ ।

    नक्कली सवारी दर्ता किताब (ब्लुबुक) तयार गरी चोरीका मोटरसाइकल बिक्री गर्ने गरेको खुलेको छ । भारतबाट चोरी गरेका मोटरसाइकल नेपाल ल्याई महँगो मूल्यका ‘बुलेट बाइक’लाई नक्कली सवारी दर्ता कागजात र नेपाली नम्बर प्लेट बनाएर वैधानिक सवारी सरह देखाई सर्वसाधारणलाई बेच्ने गरिएको रूपन्देही प्रहरीले फेला पारेको हो ।

    प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा चलाइएको ‘सर्च’ अभियानबाट यो गिरोह नै फन्दामा परेको हो । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उक्त गिरोहमा संलग्नहरूलाई पक्राउ गरिएको जनाएको छ । प्रहरीले ६ वटा मोटरसाइकल र ३ वटा स्कुटर पनि नियन्त्रणमा लिएर बुधबार बिहान सार्वजनिक गरेको हो । समातिएका मोटरसाइकलमा एउटै नक्कली नम्बर प्लेट पनि बनाएको भेटिएको छ । रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० जनकबहादुर शाहीले यस्ता घटनामा संलग्नहरू विभिन्न अपराधमा संलग्न रहँदै आएका व्यक्तिहरू नै भेटिएको बताए ।bike chor.jpg

    पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका घर भई हाल बुटवल उपमहानगरपालिका–११, रुपन्देही बस्ने २९ वर्षीय अशोक सारू, बुटवल–१५ का १९ वर्षीय सरोज उपाध्याय र बुटवल–१३ बस्ने ३६ वर्षका महेन्द्र गुरुङ छन् ।

    गुरुङ जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट मुद्दा दर्ता भई ५ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । त्यस्तै, चोरीमा संलग्न बुटवल–११ बस्ने २७ वर्षका विकास केसी रहेका छन् । उनी पनि इलाका प्रहरी कार्यालय बुटवलबाट १३ वर्ष अगाडि धरौटीमा छुटेका थिए ।

    ‘बुलेट बाइक ७५ हजारमा किनेका रहेछन् । हामीलाई झन् शङ्का भयो, त्यसपछि बुटवलको योगीकुटीस्थित विकास केसीकोमा गएर सर्च गर्दा अरू पनि ४ वटा नक्कली ब्लुबुक फेला परे । जसमा शाखा अधिकृतका नक्कली स्ट्याम्प र कार्यालयका छापहरू थिए । त्यहाँका सञ्चालकलाई पनि लिएर आएका छौँ,’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले भने ।

    प्रतिवादीहरूलाई चोरी तथा लिखतसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान अघि बढेको डीएसपी श्रीवास्तवले जानकारी दिए । उनीहरूको घरबाट ल्यापटप र नक्कली नम्बर प्लेट बनाउने रङ्गीन प्रिन्टर पनि बरामद गरिएको छ ।

    प्रहरीले सर्वसाधारणलाई मोटरसाइकल खरिद गर्दा सवारी दर्ता प्रमाणपत्र, इन्जिन र चेसिस नम्बर, राजस्व तथा दर्तासम्बन्धी विवरण सम्बन्धित निकायबाट अनिवार्य रूपमा यकिन गर्न आग्रह गरेको छ ।

    त्यस्तै, बुटवलमा प्रहरीले सुनको सिक्री चोरी गर्ने गिरोह र चोरीका गहना किन्नेलाई पनि पक्राउ गरेको छ । सुनका गहना चोरी (सिक्री स्न्याचिङ) गरेको भनी प्रहरीमा आएको निवेदनका आधारमा चोरीमा संलग्न भारतको गोरखपुर बस्ने ३२ वर्षका राहुल जैसवाल, भारत उत्तर प्रदेश महाराजगञ्ज बस्ने २२ वर्षका प्रिन्स जैसवाल र भारतको बाल्मीकिनगर बस्ने २८ वर्षका नितेश मेहतालाई पक्राउ गरिएको हो ।

    ती चोरीका गहना किन्ने रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५, भैरहवाका ३२ वर्षका प्रदीपकानु बानियाँ पनि पक्राउ परेका छन् । कानु बानियाँ यसअघि चोरीसम्बन्धी मुद्दामा ५० हजार जरिवाना भई मुद्दा फैसला भएका व्यक्ति रहेको डीएसपी श्रीवास्तवले बताए ।

    अब ‘द कन्सेप्ट क्लब’ लाई राति ११ बजेसम्म मात्र सञ्चालन :

    bike chor.jpg

    यसैगरी यही असार १७ गते बुटवल–११, कालिका नगरस्थित द कन्सेप्ट क्लब अगाडि गिरीराज राना र सुन्दर बगाले समेतलाई एक्कासि धारिलो हतियार चक्कु तथा हेलमेट प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेका बुटवल–११, बुद्धनगर बस्ने २९ वर्षका ‘आचे’ भन्ने सुमित गुरूङलाई पक्राउ गरिएको छ । गुरूङ ८ वर्ष कैद सजाय भुक्तान गरी २०८० असोजमा थुनामुक्त भएका व्यक्ति रहेको खुलेको छ ।

    क्लबकै कारण आपराधिक घटना बढेकाले अब ‘द कन्सेप्ट क्लब’ लाई राति ११ बजेसम्म मात्र सञ्चालन गर्न प्रहरीले अनुमति दिएको छ । यसअघि यो क्लब राति दुई बजेसम्म सञ्चालन हुँदै आएको थियो । क्लबहरूका कारण समय–समयमा आपराधिक घटना बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको हो । गुरूङलाई लुकिछिपी बसेको अवस्थामा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–१९, बिजौरीबाट प्रहरीले पक्राउ गरेको थियो । उनलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology