बुटवल, असार २५ ।
रुपन्देहीको तिलोत्तमाका सर्प उद्धारकर्ता बिशाल पाण्डेले दुई दिनको बीचमा १६ वटा गोमन सर्पका बच्चाको उद्धार गर्नुभएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ नमुना टोलस्थित एक घरबाट १० वटा गोमनका बच्चाहरू सुरक्षित उद्धार गरेको अर्को दिन मंगलवार बुटवलको देवीनगरबाट थप ६ वटा गोमन सर्पका बच्चाको उद्धार गर्नुभएको हो ।
सर्प उद्धारकर्ता विशाल पाण्डेले उद्धार गरिएका गोमनका बच्चा सुरक्षित स्थान ९जंगल० मा लगेर छोड्नुभएको छ । सर्प उद्धारकर्ता पाण्डेले मंगलबार दिउँसोमात्रै बुटवलको देवीनगरको एक घरमा सिँढीको प्वालभित्र रहेका तीनवटा गोमन सर्प उद्धार गरेको बताउनुभयो ।
पाण्डेका अनुसार अहिले गोमन सर्पले अण्डा कोरल्ने समय चलिरहेकोले यो अवधिमा एकै स्थानमा १० देखि ५०–६० वटासम्म गोमनका बच्चाहरु भेटिन सक्ने सम्भावना हुन्छ ।
उहाँले गर्मी समेत बढेको र पानी परेकोले सर्पहरु ओभानो ठाउँ खोज्ने भएकोले अहिले घर, आँगन, गोठ तथा झाडी वरपर विशेष सावधानी अपनाउन आग्रह समेत गर्नुभयो ।
सर्प देखिएमा एक्कासी आत्तिने, आफैं समात्ने वा मार्ने प्रयास नगर्न आग्रह गर्दै पाण्डेले सर्प उद्धारकर्तालाई खबर गर्न अनुरोध गर्नुभयो । पाण्डेले विगत केही बर्षदेखि गाउँघरमा देखिने सर्प सुरक्षितरुपमा उद्धार गरी जंगलमा छोड्दै आउनु भएको छ ।
पाण्डेले ठिक एक बर्षअघि रूपन्देहीको तिलोत्तमा–५, प्रेमनगरस्थित एकै घरबाट २३ वटा गोमन सर्प ‘बेबी कोब्रा’ को उद्धार गर्नुभएको थियो । असार २२ गते डिलाराम अर्याललाई आफ्नै भान्सा कोठामा सर्पले टोकेपछि सर्प खोज्दै जाँदा सर्पको गुँड फेला परेको थियो ।
सर्प उद्धारकर्ताको टोलीले गत बर्ष अर्यालको घरमा गुँड बनाएर बसेका ती सर्पलाई पाँच दिन लगाएर उद्धार गरेको थियो । अर्यालको घरभित्र खोजी गर्दा भान्सा कोठाको र्याकमुनि कोब्राले गुँड नै बनाएर बच्चा कोरलेको अवस्थामा भेटिएको थियो ।
त्यसपछि विशालसहितको टोलीले पाँच दिन लगाएर कुल २३ वटा कोब्राका बच्चालाई सुरक्षित रूपमा उद्धार गरेको सर्प उद्धारकर्ता पाण्डेले सम्झनुभयो । यो बर्षमात्रै गएको साता रुपन्देहीको बुटवलस्थित योगीकुटीमा रहेको विद्युत् सबस्टेसन परिसरबाट १६ वटा अजिङ्गरका बच्चा उद्धार गरिएको थियो ।
सर्प उद्धारकर्ता नवीन पौडेलले सबस्टेसन नजिक एउटै स्थानमा रहेको झाडीबाट अजिङ्गरका बच्चाहरू फेला पारी उद्धार गर्नुभएको थियो । उता अर्का सर्प उद्धारकर्ता चेतबहादुर सारु मगरले अहिले तराईमा सर्पको विगविगी नै भएको बताउँदै आफूले हरेक दिन विषालु सर्पको उद्धार गरिरहेको बताउनुभयो ।
सारु मगरले गर्मी बढेको र पानी समेत परेकोले जमिनमुनी बसेका विषालु सर्प जमिन तातेपछि बाहिर आउने र सुरक्षित स्थानको खोजीमा घरभित्र पस्ने गरेकोले सुरक्षित हुन आग्रह गर्नुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)