बुटवल,असार २४ ।
दक्षिण एसियाली ज्योतिष महासंघ, लुम्बिनी प्रदेश समितिले सनातन वास्तु परम्पराको संरक्षण, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन गर्ने उद्देश्यले ‘लुम्बिनी वास्तु सम्मेलन–२०८३’ आयोजना गर्ने भएको छ ।
सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितिका प्रवक्ता विवेक शर्माले नेपालमा वास्तु केवल घर निर्माणको पद्धति मात्र नभई प्रकृति, ऊर्जा, संस्कृति र मानव जीवनबीच सन्तुलन कायम गर्ने प्राचीन ज्ञान प्रणालीका रूपमा स्थापित रहेको बताउनुभयो ।
नेपालका मठ–मन्दिर, धार्मिक सम्पदा, पुराना दरबार तथा परम्परागत संरचनाहरूमा मौलिक वास्तु ज्ञानको गहिरो प्रभाव रहेको उनको भनाइ थियो ।
‘सनातन वास्तु परम्पराको संरक्षण र प्रवर्द्धन’ भन्ने मूल नारासहित असार २८ गते आयोजना हुने सम्मेलनमा वास्तुसम्बन्धी कार्यपत्र प्रस्तुत गरिने, विशेषज्ञहरूबीच अन्तरक्रिया गराइने, वास्तु क्षेत्रका योगदानकर्तालाई सम्मान गरिने तथा ‘लुम्बिनी घोषणा–पत्र’ जारी गर्ने तयारी गरिएको प्रदेश सभापति चुरामणि पाण्डे कान्छो ज्योतिषले जानकारी दिनुभयो।
कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय नेतृत्व, वास्तुविद्, ज्योतिषाचार्य, इन्जिनियर, आर्किटेक्ट, निर्माण क्षेत्रका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधिसहित ५ सय जनाभन्दा बढी सहभागीको उपस्थिति रहनेमहासचिव बद्रिप्रसाद भट्टराईले बताउनुभयो ।
आयोजकका अनुसार विश्वमै आध्यात्मिक पहिचान बोकेको लुम्बिनीबाट वास्तु, संस्कृति र सभ्यता संरक्षणको सन्देश प्रवाह गर्दै सनातन वास्तु परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा आयोजकले सम्मेलनको प्रचार–प्रसार र अभियानलाई आम जनसमुदायसम्म पुर्याउन सञ्चार माध्यमहरूको सक्रिय सहयोगको अपेक्षा समेत गरेको छ ।मणिग्रामस्थित बिश्राम बाटिकामा हुने सम्मेलनको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुहुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)