Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलाेत्तमा दलित ज्ञान उत्सव -२०८३ शुरु

तिलाेत्तमा दलित ज्ञान उत्सव -२०८३ शुरु

  • 651
    SHARES

  • तिलाेत्तमा दलित ज्ञान उत्सव -२०८३ शुरु

    बुटवल, असार २१ ।

    रूपन्देहीको तिलोत्तमामा आईतबारदेखि तेस्रो संस्करणको तिलाेत्तमा दलित ज्ञान उत्सव सुरु भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजनमा सुरु भएको उत्सवको पूर्वमन्त्री छविलाल विश्वकर्माले उद्घाटन गरेका हुन।

    उद्घाटन समारोहमा बोल्दै पूर्वमन्न्त्री विश्वकर्माले दलित समुदायको सवालमा स्थानीय तहले बहसको थालनी गरेर तिलोत्तमाले उदाहरणीय कार्य गरेको बताए । उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गरिएपनि व्यवहार यसका अवशेषहरु रहेको बताउँदै त्यसलाई चिर्ने गरी स्थानीय सरकारले विभिन्न बिषयमा बहस गर्नु निकै प्रशंसनिय कार्य रहेको बताए ।

    नेकपा एमालेका सचिव समेत रहेका विश्वकर्माले संविधानमा लेखिए अनुसार मानव मर्यादाको समाज निर्माणका लागि अब राजनीतिक पार्टीहरुले समेत त्यसलाई व्यवहारमा लागू गर्नुपर्ने खाँचो औल्याए ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले सामाजिक न्याय सहितको तिलोत्तमा नगरपालिका निर्माण गर्ने उदेश्य अनुसार तिलोत्तमा दलित ज्ञान उत्सव आयोजना गरेको बताए । उनले तिलोत्तमा नगरपालिका भित्र कुनै पनि प्रकारको जातीय भेदभाव तथा छुवाछुत भएको अवस्थामा कानुन अनुसार कारवाही गर्ने बताए । उनले तिलोत्तमा नगरपालिकाले दलित ज्ञान उत्सवसँगै आदिवासि जनजाती र थारु समुदायको महोत्सव गर्ने तयारीमा रहेको समेत बताए ।

    यस्तै उत्सवको अवसरमा उपप्रमुख जागेश्वरीदेवि चौधरीले दलित समुदायमाथि सामाजिक रुपमा भएको उपेक्षालाई अन्त्य गर्ने प्रयास स्वरुप प्रत्येक बर्ष ज्ञान उत्सव गर्ने गरिएको बताईन ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल, कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बोल्दै बहिष्करणमा पारिएको समुदायको सवालमा तिलोत्तमा दलित ज्ञान उत्सव मार्फत राष्ट्रिय स्तरमा बहस गराउने काम गरेको बताए । उद्घाटन सत्रलगतै विभेद विरूद्ध चित्रकला, संरचनात्मक लाभांश र उत्पीडनका मुद्धाका बारेमा प्राध्यापक डा. सञ्जिव उप्रेतीको प्रवचन गरिएको थियो ।

    त्यसलगत्तै विभेद विरूद्ध संघ संस्था नगर संजालको भुमिका, स्थानीय तह र महिला जनप्रतिनिधिहरूको अनुभव, विभेद विरूद्ध युवा, सारङ्गीको धुन र विभेद विरूद्ध कविता र सांगितिक प्रस्तुती गरिएको सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले बताए ।

    त्यस्तैगरी दोस्रो दिन सोमबार सामाजिक न्यायका निम्ति स्थानीय तहको पहल, दलित उद्यम र बजारीकरण तथा विविधिकरण, वर्तमान समयमा दलित मुद्धाहरू नगर राजनैतिक दलहरूको भुमिका, पञ्चेबाजा र त्यसको इतिहास, प्रशासनिक संयन्त्रमा समावेशिताको बिषयमा छलफल हुने जनाइएको छ । तिलोत्तमा नगरपालिकाले २०८० सालदेखि ज्ञान उत्सव गर्दै आएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology