बुटवल,असार १८।
नेपालमै पहिलो पटक हेलमेट क्लिनिङ तथा स्यानिटाइजिङका लागि अत्याधुनिक मेसिन भित्रिएको छ । भारतको प्रतिष्ठित कम्पनी फ्रेशपोड इन्डियाले उत्पादन गरेको मेसिन नेपालका लागि आधिकारिक वितरक गैरे फ्रेशपोड प्रालिले रुपन्देहीको बुटवलमा उक्त सेवाको एक समारोहका बिचमा शुरूवात गरेको हो ।
कम्पनीका अनुसार हेलमेट स्यानिटाइजिङ मशिनको मूल्य भ्याटसहित ५ लाख ९५ हजार रुपियाँ रहेको छ । जसमा एक वर्षको म्यानुफ्याक्चरिङ वारेन्टी उपलब्ध रहेको छ । एउटा हेलमेट स्यानिटाइज गर्न १७५ रुपिँया सेवा शुल्क निर्धारण गरिएको छ ।
गैरे प्रतिष्ठानका अध्यक्ष प्रेमराज गैरेले लामो समय हेलमेट प्रयोग गर्दा पसिना, धुलो, ब्याक्टेरिया र दुर्गन्ध जम्ने समस्याको समाधानका लागि यो प्रविधि नेपालमा भित्राइएको बताउनुभयो ।

उहाँले मशिनमा अनलाइन क्यूआरबाट भुक्तानी प्रणालीसमेत जडान गरिएको जानकारी दिँदै ग्राहकले नगद बोक्नुपर्ने झन्झटबिनै डिजिटल माध्यमबाट सहज रूपमा सेवा शुल्क भुक्तानी गर्न सक्ने बताउनुभयो ।
फ्रेशपोर्डको उद्घाटन गर्दै टु ह्वीलर सेगमेन्ट अफ नाडा का अध्यक्ष मेघराज पौडेलले स्वास्थ्यकालागि हरेक कुरालाई किटाणुरहीत बनाएझै अत्याधिक रुपमा प्रयोग हुने हेलमेटलाई पनि समयसमयमा निर्मुलिकरण गर्नु अति आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालमा लगभग ३५ लाख मोटरसाईकल संचालनमा रहेकाले ति मोटरसाईकलमा प्रयोग हुने हेल्मेटहरुलाई किटाणु रहित बनाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालमा पहिलो पटक भित्रिएको फ्रेसपोड्स मेसिनको सम्भावना राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।
गैरे अटोमोवाइल्स प्रालिका प्रवन्ध निर्देशक प्रिया गैरेले स्वागत गर्नु भएको सेवा उद्घाटन कार्यक्रममा पश्चिामाञ्चल पेट्रोलियम डिलर एशोसियशनका अध्यक्ष हिमाल गैरे, फ्रेशपोर्ड भारतका फाउण्डर दिलीप लकजु, को-फाउण्डर भाष्कर लकजु, डाक्टर मनोज गैरेलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
छोटो समयमै भारत, श्रीलंका तथा अफ्रिकालगायतका देशमा विस्तार भएको फ्रेशपोडले हालसम्म २०० भन्दा बढी मशिन बिक्री गरी ५ लाखभन्दा बढी हेलमेट स्यानिटाइज गरिसकेको कम्पनीले जनाएको छ । फ्रेशपोडले भारतमा गोल्ड मेडल तथा सर्बिया, थाइल्यान्ड, मलेसिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय इनोभेसन प्रदर्शनीहरूमा समेत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । गैरे प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेले मशिनले जम्मा ५ मिनेटमा हेलमेटभित्रको धुलो, दुर्गन्ध र जीवाणु हटाइ हेलमेटलाई सफा, स्यानिटाइज र सुगन्धित बनाउँछ ।

मेडिकल ल्याब परीक्षणबाट प्रमाणित यो प्रविधिबाट स्यानिटाइज गरिएको हेलमेट करिब १५ दिनसम्म ताजा र दुर्गन्धरहित रहने कम्पनीको दाबी छ । यो सेवा विशेषगरी मोटरसाइकल चालक, राइडर, डेलिभरी सेवा प्रदायक तथा दैनिक हेलमेट प्रयोगकर्ताका लागि उपयोगी हुने विश्वास गरिएको छ । नियमित हेलमेट सरसफाइले छालासम्बन्धी समस्या तथा संक्रमणको जोखिम कम गर्न सहयोग पुग्ने विश्वास कम्पनीको छ ।
कम्पनीले आजदेखि नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्दै आगामी दिनमा पेट्रोल पम्प, सपिङ कम्प्लेक्स, कलेज, अस्पताल तथा टू ह्वीलर डिलर एन्ड सर्विस सेन्टर नेटवर्कमार्फत देशभर सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ । सन् २०२५ मे ४ मा भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले यस मशिनको भारतमा औपचारिक उद्घाटन गर्नुभएको थियो ।
गैरे फ्रेशपोड प्रालिको प्रधान कार्यालय बुटवल उपमहानगरपालिका–११, रूपन्देही कालिकानगरमा रहेको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)