बुटवल, असार १२ ।
अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको अवसरमा बुटवलमा जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । “लागूऔषधमुक्त समाज, हाम्रो साझा अभियान“ भन्ने नारासहित बुटवल उपमहानगरपालिका–१६ को संरक्षकत्वमा उज्ज्वल युवा क्लबले लागूऔषध नियन्त्रण र न्यूनीकरणका लागि युवा तथा सरोकारवालालाई लक्षित गर्दै एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रम समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत शान्तिपूर्ण र सुरक्षित समाज निर्माण अभियानको साथ समेत रहेको थियो । कार्यक्रममा सहजीकरण गर्दै वडा प्रहरी कार्यालय रन्यौरा, मुर्गियाका प्रहरी सहायक निरीक्षक विष्णु पौडेलले लागूऔषधको परिचय, यसको प्रकार, कानुनी व्यवस्था तथा नियन्त्रणमा समुदायको भूमिकाबारे जानकारी गराएका थिए ।
उनले प्राकृतिक र कृत्रिम लागूऔषधका प्रकार, शरीरमा पर्ने असरका आधारमा तिनको वर्गीकरण तथा पछिल्लो समय नेपालमा बढ्दो लागूऔषध प्रयोगको अवस्थाबारे प्रकाश पारे ।हाल १५ देखि ४० वर्ष उमेर समूहका युवामा लागूऔषधको प्रयोग बढी देखिएको भन्दै उनले भारत र चीनबीचको भौगोलिक अवस्थाका कारण नेपाल लागूऔषध ओसारपसारको ट्रान्जिट मार्गका रूपमा समेत प्रयोग हुँदै आएको बताए । उनले नेपाल प्रहरीमा प्रत्येक वर्ष हजारौं लागूऔषध मुद्दा दर्ता गर्नुका साथै ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै आएको जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका–१६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले पछिल्लो समय ग्रामीण क्षेत्रसम्म लागूऔषधको समस्या फैलिन थालेको भन्दै यसलाई नियन्त्रण गर्न स्थानीय सरकार, प्रहरी, अभिभावक र समुदायबीच समन्वय आवश्यक रहेको बताए ।
कार्यक्रममा बटौली कला संरक्षण समितिका अध्यक्ष बाबुराम घिमिरे, लागूऔषधविरुद्धका अभियन्ता मिन सेन, वडा सदस्यहरू बसन्ती घिमाल, विष्णुदेवी गैरे, सोमप्रसाद डंगोरियालगायतले लागूऔषध दुरुपयोगबाट हुने सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी असरबारे सचेतना फैलाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्लबका अध्यक्ष पंकज शर्माले दिवसको अवसर पारेर समुदायका युवालाई लागूऔषधसम्बन्धी सही जानकारी दिन र दुव्र्यसनबाट टाढा राख्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । लागूऔषध प्रयोग रोकथामका लागि शिक्षा र जनचेतना अभिवृद्धि, लतमा परेका व्यक्तिहरूको उपचार, परामर्श तथा पुनस्र्थापनामा प्राथमिकता दिनुपर्ने तथा अवैध उत्पादन, ओसारपसार र बिक्री नियन्त्रणका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)