काठमाडौ,असार ९ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ मा नयाँ इतिहास रच्दै विश्वकपका सर्वाधिक गोलकर्ता बन्न सफल भएका छन्। अष्ट्रियाविरुद्ध दुई गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाएका मेस्सीले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमान तोडेका हुन्।
यो जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो विजय हासिल गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। खेलपछि प्रतिक्रिया दिँदै मेस्सीले जितलाई निकै महत्वपूर्ण र संघर्षपूर्ण भएको बताए।
‘इमानदारीपूर्वक भन्नुपर्दा म यो जितबाट साँच्चै धेरै खुसी छु। यो एकदमै महत्वपूर्ण जित हो। निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको हो, जसले हामीलाई आगामी यात्राका लागि मानसिक शान्ति दिन्छ,’ मेस्सीले भने।
उनले विश्वकपका खेलहरू स्वभाविक रूपमा प्रतिस्पर्धात्मक र तीव्र हुने उल्लेख गर्दै टोलीको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे। ‘यो विश्वकप हो। खेल निकै प्रतिस्पर्धात्मक र तीव्र गतिको थियो। हामी ६ अंक जोड्न र अर्को चरणका लागि छनोट हुन सफल भएकामा खुसी छौं,’ उनले थपे।
अष्ट्रियाविरुद्धको खेलमा दुई गोल गरेसँगै मेस्सीको विश्वकप गोल संख्या १८ पुगेको छ। यससँगै उनले मिरोस्लाभ क्लोजलाई उछिन्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बन्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।
समूह ‘जे’ मा अर्जेन्टिना लगातार दुई जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। अष्ट्रिया ३ अंकसहित दोस्रो स्थानमा छ भने जोर्डन र अल्जेरिया अझै अंकविहीन छन्।
मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै उपाधि दाबेदार अर्जेन्टिनाले विश्वकप यात्रामा बलियो सन्देश दिएको छ। कप्तानको कीर्तिमानी प्रदर्शनले अर्जेन्टिनी समर्थकहरूमा उपाधिको आशा अझ बढाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)