बुटवल, असार ८ ।
४५औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसरमा तिनाउ इ. बो. स्कुलद्वारा आयोजित “तिनाउ सांगीतिक कार्यक्रम–२०८३” आइतबार सम्पन्न भएको छ।
विद्यालयकी प्राचार्य सीता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय कलाकार तथा विद्यालयका प्रमुख सङ्गीत प्रशिक्षक वसन्त श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मज्ञमूर्ति पाण्डे हुनुहुन्थ्यो भने अतिथिका रुपमा सहायक प्राचार्य सुर्यप्रसाद पाण्डे, विद्यालय संयोजक नारायण पोखरेल, वरिष्ठ संगीत प्रशिक्षक किशोर बिक ,कक्षागत इन्चार्जहरू, विषयगत विभागीय प्रमुखहरू हुनुहुन्थ्यो । कार्यक्रममा शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भमा सहप्राचार्य सुर्यप्रसाद पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै सङ्गीतले व्यक्तित्व विकास, सिर्जनशीलता र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
कार्यक्रममा विद्यार्थीहरूले वाद्यवादन, गीत, नृत्य तथा विविध सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
विद्यालयका आई टी प्रमुख आविष्कार पाण्डे र अतिरिक्त क्रियाकलाप इंचार्ज नबीन शाक्यहहरूको संयोजन एवं सङ्गीत प्रशिक्षक नीतु भण्डारी, नृत्य प्रशिक्षक रोहन राना,सांस्कृतिक विभाग संयोजक सुस्मिता आचार्य तथा नृत्य प्रशिक्षक प्रकृति बलामी मगर एली बुढामगरको प्रशिक्षणमा तयार गरिएका प्रस्तुतिहरूले दर्शकको मन जितेका थिए।
सो अवसरमा मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मजमूर्ति पाण्डेले सङ्गीत केवल मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, संस्कार र सांस्कृतिक पहिचानको संवाहक भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालयले विद्यार्थीहरूको बहुआयामिक प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने कार्यमा तिनाउ स्कुल हर्दम अग्र स्थानमा रहन सफल भएकोमा गर्व गर्दै सम्पूर्ण प्रशिक्षक तथा कार्यक्रममा सहभागी विद्यार्थीहरुलाइ धन्यवाद ज्ञापन गर्नुभयो।
प्रमुख अतिथि वसन्त श्रेष्ठले अन्तर्राष्ट्रिय सङ्गीत दिवसले सङ्गीतमार्फत विश्व समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिएको बताउँदै विद्यार्थीहरूलाई कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुन प्रेरित गर्नुभयो।
शुभकामना मन्तव्यको क्रममा विद्यालय संयोजक नारायण पोखरेल, हिमलाल चापागाईं कक्षा १० (एसइइ) का इन्चार्ज तथा कुशल सन्चालक अग्निधर पोखरेलले सन्चालन गर्नुभएको कार्यक्रमको समापन गर्दै प्राचार्य सीता पाण्डेले विद्यार्थीहरूको प्रतिभा विकासका लागि विद्यालय सधैं प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण शिक्षक, कर्मचारी, तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सांगीतिक प्रस्तुति, उत्साहजनक सहभागिता र सन्देशमूलक मन्तव्यले भरिएको उक्त कार्यक्रमले विद्यालयमा कला, संस्कृति र सङ्गीतप्रतिको आकर्षण अझ बढाएको सहभागीहरूले बताएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)