बुटवल,जेठ २८ ।
बिरामी हुँदा अस्पताल धाउनुपर्ने बाध्यता हटाउँदै रुपन्देहीको तिलोत्तमा ३ योगीकुटीमा रहेको ‘हेल्थ एट होम’ले घरघरमै पुगेर सेवा दिन शुरु गरेको छ । पछिल्लो समय मानिसको ब्यस्तताका कारण अस्पताल जानपनि समय अभाव हुन थालेपछि घरमै पुगेर सेवा दिन थालिएको ‘हेल्थ एट होम’ले जनाएको छ ।
शुरुवाति चरणमै यसको प्रभावकारिता बढेको संचालनहरुको दाबी छ ।योगिकुटीस्थित नरूमल्ल पथमा (होटल पौवा पछाडी) स्वास्थ्य सेवामा नयाँ अभ्यासको रूपमा ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा) सुरु गरिएपछि बिरामीहरु लाभान्वीत भएका छन् ।‘परिवार टाढा भए पनि हामी नजिक छौ’भन्ने नारालाइ सार्थकता दिने सेवा दिइरहेको संचालक निरञ्जन पोखरेलले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।
करिब ७० लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस सेवाले बिरामी लाई अस्पताल धाउनुपर्ने बाध्यता घटाउँदै घरमै सहज, छिटो र गुणस्तरीय उपचार उपलब्ध गराउने लक्ष्य राखेको उहाँको भनाइ छ । स्वास्थ्य सेवामा नयाँ अभ्यासका रूपमा सुरु गरिएको ‘हेल्थ एट होम’ (घरमै स्वास्थ्य सेवा)कार्यक्रम प्रभावकारि बन्ने वरिष्ठ चिकित्सक डा. नन्दु पाठकले बताउनुभयो ।
यो सेवा बिरामीमैत्री अवधारणामा आधारित रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ र आवश्यक कदम भएको बताउनुभयो।
पोखरेलका अनुसार नेपालमा यस प्रकारको व्यवस्थित र समग्र ‘होम हेल्थ केयर’ सेवा पहिलो पटक सुरु गरिएको हो ।
उहाले विकसित देशहरूमा यस्ता सेवाहरू पहिले नै लोकप्रिय रहेको उल्लेख गर्दै नेपालमा पनि यसको आवश्यकता बढ्दै गएको बताउनुहुन्छ । वैदेशिक रोजगारी,“व्यस्त जीवनशैली, ज्येष्ठ नागरिकको बढ्दो संख्या र दीर्घरोगी बिरामीहरूको सुविधालाई ध्यानमा राखेर यो सेवा शुरु गरिएको र अहिले पनि चिकित्सकसहितको टोलीले घरघरमा पुगेर सेवा दिइरहेको डा .चन्द्रकान्त घिमिरेले बताउनुभयो ।
मोवाइलमा ‘हेल्थ एट होम’ एप डाउनलोड गरेर सोही एप मार्फत् बिरामीले डाक्टर बोलाउन सक्नेछन् ।
यो सेवा अन्तर्गत बिरामीको घरमै डाक्टर तथा नर्स पुगेर स्वास्थ्य परीक्षण गर्ने , प्रयोगशाला परीक्षणका लागि आवश्यक नमुना घरमै संकलन गर्ने, औषधि घरमै पु¥याउने, मानसिक स्वास्थ्य र मनोपरामर्शलाई समेत प्राथमिकतामा राखेर आवश्यक स्वास्थ्य परामर्श दिइने छ ।साथै, फिजियोथेरापी सेवा पनि घरमै उपलब्ध गराइने भएकाले हाडजोर्नी तथा चोटपटकका बिरामीहरूका लागि यो सेवा अझ उपयोगी हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, दीर्घरोगी तथा शारीरिक रूपमा अशक्त बिरामीहरूका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरणहरू,जस्तै अक्सिजन सिलिन्डर, बेड, व्हीलचेयर लगायतका सामग्री घरमै उपलब्ध गराउने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।
सेवाग्राहीले मोबाइल एप वा वेबसाइटमार्फत आफूलाई आवश्यक पर्ने सेवा छनोट गर्न, डाक्टरसँग भेट्ने समय बुक गर्न तथा अनलाइनमार्फत विशेषज्ञसँग परामर्श लिन सक्नेछन्।
विदेशमा रहेका आफन्तहरूले समेत आफ्ना परिवारका सदस्यहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन र परामर्शको व्यवस्था मिलाउन सक्ने सुविधा रहेको छ ।
‘हेल्थ एट होम’ मा बिशेषज्ञ डाक्टरहरू १० जनाले दैनिक सेवा दिइरहनुभएको प्रशासनले जनाएको छ । घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने यो पहलले विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अस्पतालसम्म पुग्न कठिनाइ हुने बिरामीहरूलाई ठूलो राहत दिने विश्वास गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)