बुटवल,जेठ २७ ।
बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।
बुधबार आयोजित एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त सिफारिस तथा आवश्यक मापदण्ड पूरा भएपछि नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरेका हुन् । नगरभित्रका ६ हजार बालबालिकामा पूर्ण खोप भएसंगै घोषणा गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईँले बुटवलले पूर्ण खोप सुनिश्चितताका लागि आवश्यक सबै सूचक पूरा गरेको भन्दै प्रमाणपत्र हस्तान्तरण गरेका थिए । अन्य पालिकाका तुलनामा बुटवलमा घोषणा कठिनाई रहेको उनले बताए । बाहिरबाट आएर बसोबास गर्ने धेरै संख्याका कारण पूर्ण खोप कार्यान्वयनमा ढिलाई भएको उनले बताए । पूर्ण प्रसुति समेत घोषणा गर्ने योजना बनाएको भएपनि त्यो सफल नभएको उनले बताए ।
कार्यक्रममा नगर प्रमुख पाण्डेयले स्वास्थ्य क्षेत्रको थप सुदृढीकरणका लागि उपमहानगर प्रतिबद्ध रहेको बताए । बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको भन्दै उनले बालबालिकामा खोप सेवाको बारेमा नियमित अनुगमन र आवश्यक व्यवस्थापन गरिएको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय नवलपरासीका खोप अधिकृत भेषराज शर्माले पूर्ण खोप दिगोपना सुनिश्चितताबारे प्रकाश पार्दै लुम्बिनीबाट नै १२ वर्षअघिदेखि यो अभियान शुरु भएको दाबी गरे । स्थानिय पालिकाबाट प्रदान गरिने स्वस्थ्य सेवा सबैभन्दा महत्वपूर्ण हुने उनले बताए । खोप, पोषण, सुरक्षित मातृत्वजस्ता महत्वपूर्ण सेवाकै कारण समुदायमा मानिसहरु स्वस्थ्य रहन मद्यत मिल्ने भन्दै यसबाट अस्पताल जानै नपर्ने उनले बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप फोकल प्रमुख डिलाराम भुषालले रुपन्देही जिल्लाका बुधबार ९ औ पालिकाका रुपमा बुटवललाई घोषणा भएको बताए । यो अभियानमा महिला स्वयंसेविकाहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै उनले अभियानलाई निरन्तरता दिन समेत जरुरी रहेको बताए ।
कार्यक्रममा कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापाले बालबालिका स्वास्थ्य रहेमात्र राम्रो शिक्षा दिन सकिने तर्क दिदै यो महत्वपूर्ण अभियान भएको बताए । पालिकाबाट स्वास्थ्य र शिक्षालाई लिएर महत्वपूर्ण मुद्या बनाएर काम गरिरहेको उनले बताए ।
एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवि अर्यालले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणामा सहयोग गर्ने महिला स्वयंसेवी, स्थानिय वडा कार्यालय, स्वास्थ्य शाखालाई सम्मान गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका जनस्वाथ्य ब्यवस्थापन तथा रोग नियन्त्रण शाखाका प्रमुख युवराज पाण्डेले हरेक वर्ष घरधुरी सर्वेक्षणमार्फत बालबालिकाको उमेरअनुसार खोप पाए–नपाएको यकिन गर्ने, छुटेका बालबालिकालाई खोप सेवा उपलब्ध गराउने तथा नियमित अनुगमन गर्ने कार्यलाई निरन्तरता दिँदै आएको बताए ।
बुटवल उपमहानगरपालिका जनस्वास्थ्य अधिकृत तथा खोप फोकलप्रसन कल्पना भुषालले सबै निर्धारित मापदण्ड पूरा गरेपछि बुटवललाई पूर्ण खोप दिगोपना सुनिश्चित उपमहानगरपालिका घोषणा गरिएको बताईन । नगरमा १५ महिना मुनि र १६ महिनादेखि ५ वर्षमुनि गरि दुई समुहका करीब ६ हजार बालबालिकाहरु रहेका छन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)