बुटवल, जेठ ९ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले पछिल्लो ४ वर्षको अवधिमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम सम्पन्न गरेको छ। शनिबार एक कार्यक्रमको आयोजना गरि वडा कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विकास निर्माणसँगै सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरिएको दावी गरिएको छ।
बुटवलको सुख्खानगर भनेर चिनिने यो वडाको मुख्य समस्याका रुपमा रहेको खानेपानी समस्या समाधानका लागि उल्लेखनिय प्रयास भएको दावी वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले गर्नु भएको छ।
प्रगति बिवरण सार्वजनिक तथा सम्मान समारोहमा वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार वडा कार्यालयको भवन निर्माण, जे.बी.हरित पार्क निर्माण, खुला व्यायामशाला सञ्चालन तथा विभिन्न सडकको स्तरोन्नतिसहित दर्जनौं सडकको पीच र मर्मतको काम सम्पन्न गरिएको छ ।
जनता माध्यमिक विद्यालयमा ब्लक टायल बिछ्याउने, मिलनचोक क्षेत्रमा संरचना निर्माण तथा सडक बोर्डमार्फत सडक मर्मत कार्यसमेत गरिएको वडाले जनाएको छ । बिसं २०७९ सालको स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएर आएका अध्यक्ष लगाएत सदस्यहरुले वडाको समग्र बिकासमा दिनरात नभनी खटेर योगदान पुराएको दावी गरिएको छ।
विद्युत् व्यवस्थापनतर्फ नाङ्गा तार हटाएर लेमिनेटेड तार जडान गरिएको, बिद्युतिकरण स्तरउन्नतीका लागि १३ थान ट्रान्सफर्मर थपिएको तथा विभिन्न स्थानमा नयाँ पोल र ३ वटा मुख्य चोकमा हाइमास्ट बत्ती जडान गरिएको उल्लेख छ । प्रगति बिवरणमा खानेपानी क्षेत्रमा विभिन्न टोलमा पाइप विस्तार तथा मुहान खानेपानी आयोजनामार्फत पानी आपूर्ति सुधार गरिएको जानकारी दिइएको छ ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलोमै पुगेर सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा क्षेत्रमा विद्यालयलाई नगरस्तरीय बजेट विनियोजन, विद्यार्थी प्रोत्साहन तथा व्यवस्थापन सुधारका कार्यक्रम सञ्चालन गरिएको वडाले जनाएको छ । त्यसैगरी महिला समूह, आमा समूह, जेष्ठ नागरिक मञ्च, बाल क्लब तथा विभिन्न सीपमूलक तालिममार्फत सामाजिक विकासका कार्यक्रम अघि बढाइएको छ । खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै क्लब तथा विद्यालयलाई बजेट विनियोजन गरिएको जनाइएको छ । वडा कप प्रतियोगिताहरु पनि संचालन गरिएको वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीले बताउनु भएको छ ।
वडाले आर्थिक वर्ष २०८२÷०८३ सम्म तीन करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको तथा १ हजार ३ सयभन्दा बढी नागरिकलाई नागरिकता सिफारिस गरिएको जनाएको छ । फ्री वाइफाइ सेवा, निःशुल्क खानेपानी धारा तथा सडक सौन्दर्यीकरणका कामलाई पनि प्राथमिकतामा राखिएको वडाको भनाइ छ । वडाध्यक्ष पंगेनीले सीमित स्रोत–साधनका बीच नागरिकको आवश्यकता अनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनु भयो ।
उहाँले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई सन्तुलित रूपमा अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा थप योजनाबद्ध ढंगले काम गरिने बताउनुभयो । यस्तै वडासचिव सुन्दरी आचार्य ले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले वडाले प्रशासनिक सेवा मात्रै नभई सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गर्नुभयो ।
पुर्व वडाध्यक्ष भिमबहादुर श्रेष्ठले वडाको बिकासका लागि सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनु भयो । दलको राजनिति भन्दा माथि जनताको सेवा भएको उल्लेख गर्दै उहाँले जुनसुकै दलबाट आएको भएपनि वडा समितिले सहमती सहकार्य र एकता कायम राखेको भन्दै प्रसंसा गर्नुभयो ।
सो अवसरमा वडाको समग्र बिकासमा बिभिन्न क्षेत्रबाट योगदान पुराउने ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ठ कार्य गर्ने टोल समितिहरु, महिला स्वयं सेवीकाहरु, आमा समहुहरु, बिद्यालयहरु, क्लवहरु, कर्मचारी तथा पुर्व कर्मचारी, पुर्व जनप्रतिनिधी लगाएतलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)