बुटवल,जेठ ९ ।
कयौं रोजगारी नेपालमै छ तर उद्योग ब्यबसाय क्षेत्रमा दक्ष र सीपयुक्त कामदार अभाव छ । सरकार, नेपालको औद्योगिक एवं ब्यबसायिक क्षेत्र र जनशक्ति उत्पादक शैक्षिक संस्थाहरु बिच संवाद, सहकार्य र रोजगार प्रदायक रणनिती छैन ।
नयाँ रोजगारी क्षेत्रको खोजी गर्ने र नेपालमै दक्ष जनशक्ति उत्पादन र ब्यबस्थापन गर्ने कुरालाई गम्भिरताका साथ लिएर बुटवल कालिका क्याम्पसले संवाद, सहकार्य र रोजगार प्रदायक रणनितीको लागि थालनी गरेको छ । शुक्रबारदेखि शुरु भएको सो संवाद कार्यक्रम आईतबारसम्म चल्ने छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा बुटवल कालिका क्याम्पसले आयोजना गरेको नेपालको संभावित रोजगारी बजारका लागि सीपको खाडल कमगर्न शैक्षिक संस्था र उद्योग क्षेत्रबिच संवाद कार्यक्रममा सहभागिहरुले संभव भएर पनि सहकार्यको रणनिति नहुँदा रोजगारी र सीपको खाडल कम नभएको बताए ।
रोजगारी र सीपको प्रयोग गर्ने संभावना नेपालकै बजारमा प्रसस्त हुँदाहुँदै जनशक्ति बिदेशीने र उता रोजगारदाताले बाहिर खोजी गर्ने परम्परा अव अन्त्य हुनुपर्ने कुरामा उनिहरुले जोड दिएका छन् । उनीहरुले भने—“सबैचिज हामीसँग छ सबै संभव छ तर हामी मृगले कस्तुरी खोजेजस्तो भौंतारि रहेका छौ ।” सहभागी विज्ञ वक्ताहरु भन्छन्—“उद्योग ब्यबसाय क्षेत्र नेपालको प्रमुख रोजगारीको क्षेत्र भएपनि सरकार, रोजगारदाता कम्पनी र जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाहरु बिच ठोस सहकार्य निति र दर्घिकालिन रणनिति नहुँदा समस्या ज्यूँ का त्यूँ छ ।”
मध्यपश्चिम विश्वबिद्यालयका प्राध्यापक प्रा.डा. चन्द्रप्रकाश रिजालले रोजगारदाता, जनशक्ति उत्पादक संस्था र सरकारबिच सहकार्य निति नहुँदा उद्योग ब्यबसाय क्षेत्रले दक्ष जनशक्ति अभावमा बिदेशी कामदार खोज्नु परेको बताउनु भयो, “स्वदेशकै शिक्षालयबाट उत्पादित जनशक्तिले रोजगारको खोजीमा भौंतारिनु परेको छ ।” प्रा.डा. रिजाल भन्नुहुन्छ—“पाठ्यक्रममा पनि ब्यापक परिमार्जनको आवश्यक्ता छ, मध्यपश्मिान्चल बिश्वबिद्यालयले यसको शुरुआत पनि गरिसकेको छ ।” मेटलकाष्ट प्रा.लि.का प्रबन्ध निर्देशक निश्चल शर्माले क्याम्पसमा पढ्दा पढ्दै
प्राबिधिक रुपले पनि अभ्यास गर्ने परिपाटीको शुरुआत गर्नुपर्ने कुरामा जोड दिँदै बिदेशीले बनाईदिएको पाल्पाको मिशन हस्पिटल र बुटवल टेक्निकल ईन्स्टीच्यूट (बिटिआई) बाट सिक्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो—“बिदेशीले आएर हामीलाई सिकाएर गए, तर हामीले सिकेनौं, सिकेर पनि ब्यबहारमा लागु गरेनौं ।
तर अव ढिला नगरौं पढ्दै काम सिक्दै गर्ने परिपाटीको बिकास तत्काल गरौं ।” पाठ्यक्रममा पनि सुधार गरि सैद्धान्तिक भन्दा ब्यबहारिक ज्ञान प्रदान गर्ने खालको शिक्षाको बिकास गर्नुपर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष हरि प्रसाद अर्याल, क्याम्पस संचालक समितिका उपाध्यक्ष नित्यानन्द ज्ञवाली, समितिका पुर्व अध्यक्ष अर्जुनमान सैंजु , क्याम्पस प्रमुख घनश्याम पाठक, सहायक क्याम्पस प्रमुख महेश पाण्डे, उद्योगी ब्यबसायी अनिल प्रसाद श्रेष्ठ, नेशनल कुकवेयर प्रा.लिका रुस्तम कंडेल लगाएतले संभावना हुँदाहँदै खोजी गर्ने र उचित ब्यबस्थापन गर्ने परिपाटीको बिकास नहुँदा यो बिषयले प्राथमिकता पाउन नसकेको बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)