काठमाडौं ,जेठ ४ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्नका लागि नाम टिपाएर पनि अनुपस्थित भएका छन्।
शून्य समयमा बोल्नका लागि नाम दर्ता गराएका कार्की संसद बैठकमै उपस्थित नभएपछि सभामुख डोलप्रसाद अर्यालले उनको नाम तीनपटक उच्चारण गरेका थिए। तर, पटक–पटक बोलाउँदा पनि उनी संसदमा देखिएनन्।
सभामुख अर्यालले एमाले सांसद कृपाराम रानापछि “माननीय सदस्य कृष्णकुमार कार्की…” भन्दै तीनपटक नाम बोलाएका थिए। त्यसपछि कार्की उपस्थित नभएपछि सभामुखले सांसद केपी खनाललाई बोल्न समय दिएका थिए।
कार्की संसदमा अनुपस्थित हुनुको कारण भने उनीमाथि सार्वजनिक भएको गम्भीर व्यक्तिगत आरोपसँग जोडेर हेरिएको छ। मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीमाथि नाइजेरियाकी २६ वर्षीया रिता अजुकोलाई गर्भवती बनाएर सम्पर्कविहीन बनेको आरोप लागेको समाचार सोमबार सार्वजनिक भएको थियो।
समाचारअनुसार अजुको र कार्की लिभिङ रिलेसनमा थिए। अजुकोले आफू गर्भवती भएपछि कार्की सम्पर्कविहीन बनेको दाबी गरेकी छन्। उनले गर्भपतन गर्न चाहेको तर कार्कीले भावनात्मक दबाब दिएर त्यसो गर्न नदिएको आरोपसमेत लगाएकी छन्।
सार्वजनिक भएका ह्वाट्सएप कुराकानी, भिडियो तथा तस्वीरहरूमा कार्कीले अजुकोलाई ढाडमा बोकेको, ड्राइभिङ सिकाएको तथा ‘माई वाइफ’, ‘माई लाइफ’ जस्ता सन्देश पठाएको उल्लेख गरिएको छ।
यस विषयमा सञ्चारकर्मीले प्रतिक्रिया माग्दा कार्कीले “म मिटिङमा छु, अहिले कुरा गर्न मिल्दैन” भन्दै टारेका थिए। तर, संसद बैठकमा भने उनी उपस्थित नभएको विषयले थप चर्चा पाएको छ।
कार्की यसअघि पनि विवादमा परेका व्यक्ति हुन्। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संसद भवन क्षेत्रमा भएको प्रदर्शनमा उनको संलग्नता देखिने तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए।
शून्य समयलाई जनताका मुद्दा संसदसम्म पुर्याउने महत्वपूर्ण समयका रूपमा लिइन्छ। तर, बोल्न नाम टिपाएका सांसद नै अनुपस्थित भएपछि संसदभित्र र बाहिर दुवैतर्फ यस घटनाबारे चर्चा सुरु भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)