बुटवल,बैसाख २६ ।
बुटवलमा आजदेखि तीन दिने राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनको सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको यो कार्यक्रममा देशभरबाट विभिन्न जिल्लाका महासंघ प्रतिनिधि, केन्द्रीय नेताहरु, विभिन्न पत्रकार सम्बद्ध संघसंगठनका अध्यक्षहरु, राष्ट्रिय स्तरका तथा मोफसलमा रहेका सञ्चार माध्यमहरुमा लामो समय अनुभवप्राप्त व्यक्तित्वहरुको सहभागिता रहेको अध्यक्ष दिनेश पाण्डेले बताए ।
सम्मेलनमा विभिन्न ९ वटा विषयमा समूहगत छलफल राखिएकोमा पहिलो दिन शनिबार ३ वटा सकिएका छन् । आज आइतबार ६ वटा विषयमा समूहगत छलफल गरिने र तेस्रो दिन देशभरबाट सहभागी प्रतिनिधिहरु बीच प्रदेशगत रुपमा पत्रकारिताको विगत, वर्तमान र भविष्यबारे चुनौतीसहित अवसरका बारेमा छलफल गरी निष्कर्ष निकालिने कार्यतालिका रहेको छ ।
विभिन्न जिल्ला तथा सातै प्रदेशका महासंघ प्रतिनिधिहरु, केन्द्रीय पदाधिकारी तथा विभिन्न सञ्चार गृहका प्रतिनिधिहरु बीच छलफल हुने सम्मेलन वैशाख २८ गते बुटवल घोषणापत्र जारी गर्दै समापन हुनेछ । सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलको संयोजकत्वमा गठन गरिएको समितिले घोषणापत्र लेखन गर्नेछ । सम्मेलनको पहिलो दिन कसरी बचाउने स्थानीय मिडिया भन्ने विषयमा स्थानीय सञ्चार माध्यमका प्रतिनिधिहरुसँग छलफल गरिएको छ भने स्थानीय सरकार के गर्दैछन् के गर्नुपर्छ कसरी उभो लाग्छ उद्योग व्यवसाय भन्ने विषयमा रुपन्देहीका निजी क्षेत्र सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुसँग छलफल गएिको छ ।
यसैगरी दोस्रो दिन आइतबार लुम्बिनीको पर्यटन, पर्यटक र पैसा कसरी भित्रा्यउने भन्ने विषयमा छलफल गरिँदैछ । छलफलमा सरकारका प्रतिनिधि, पर्यटनविद, व्यवसायी तथा स्थानीय सरकारका प्रतिनिधिहरुसँग सहभागी हुँदैछन् । आर्थिक संकटमा मिडिया, अबको बाटो भन्ने विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा लामो समय व्यवस्थापन क्षेत्रमा रहेर काम गरेका प्रतिनिधिहरुसँग छलफल गरिँदै छ । यसैगरी प्रश्नको घेरामा मिडिया, कसरी जिल्ने पाठक दर्शक र श्रोताको मन भन्ने विषयमा महासंघका पूर्व केन्द्रीय अध्यक्षसहित लामो समय अनुभव प्राप्त सम्पादक तथा सञ्चारकर्मीहरुसँग छलफल गरिँदै छ ।
आइतबार नै हुने परम्परातगत मिडियामाथि डिजिटल प्लेटफर्मको चुनौती विषयक समूहगत छलफल हुनेछ भने मिडिया नीति कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल हुनेछ । विभिन्न राजनीतिक दल सम्बद्ध पत्रकार संघसंगठनका केन्द्रीय अध्यक्षहरु सहभागी हुने मिडियाकर्मीः वाचडग कि राजनीतिक खेलाडी विषयक छलफल हुनेछ । सम्मेलनको अन्तिम दिन सोमबार बुटवल घोषणापत्र जारी गर्दै कार्यक्रम समापन हुनेछ ।
सरकारले उद्योग– व्यवसाय फस्टाउने नीतिनियम बनाउनुपर्छ
निजी क्षेत्रमैत्रीे नीतिनियम निर्माणसँगै कार्यान्वयन भए मात्रै उद्योग–व्यवसाय सञ्चालनमा थुप्रै अवरोध हट्ने यसका अगुवाहरुले बताएका छन् ।
महासंघले आयोजना गरेको कसरी उभो लाग्छ उद्योग व्यवसाय सम्बन्धी छलफल कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले उद्यम गर्नका लागि धेरै अवरोधहरु रहेको बताए । हामी निर्वाहमुखी उद्योग–व्यवसायमा केन्द्रीत भयौं कि ? यसतर्फ सोच्नुपर्नेछ । स्वदेशी उद्योग दिगो सञ्चालनका लागि सरकारले नीति बनाउनुपर्नेछ उनले भने । उनले स्वदेशी वस्तुको प्रयोगमा जोड दिन आग्रह गरे । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताए । उनले काठ पनि तेस्रो मुलुकबाट आयात भइरहेको बताए ।
नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्ने नचाहेको आरोप लगाए । उनले कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिए । बेलहिया नाकामा मात्र नभइ सबै नाकामा कडाइ हुनुपर्ने उनको भनाइ छ । रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग–व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए । उनले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको बताए । उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले राज्यका नीतिनियम ठीक हुनुपर्ने बताए । उनले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । राज्यलाई मात्रै दोष लगाएर हुँदैन, गलत गर्ने व्यवसायीको समर्थन गरेका छैनौं, Úउनले भने । कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गरेकी थिइन् ।
स्थानीय मिडिया कसरी बचाउने ?
पत्रकारिताको भविष्य हिजो, आज र भोली रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य रहेको बताएका हुन् । मिडिया मन्थन अन्तर्गत स्थानीय मिडिया कसरी बचाउने सम्बन्धी कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा दैनिक पत्र दैनिकका प्रधान सम्पादक/सञ्चालक डा. बालकृष्ण चापागाईंले समाज रहेसम्म पत्रकारिता रहने बताए । उनले जस्तोसुकै चुनौति आए पनि पत्रकारिताको भविष्य रहेको बताए । पत्रकारिताले समाजमा कस्तो प्रभाव पार्ने कुरा नै महत्वपूर्ण कुरा हो, उनले बताए । मिडियाको महत्व कहिले पनि नघट्ने उनको भनाइ छ । सामाजिक न्यायको पक्षमा पत्रकारिताको वकालत गर्ने अवस्था आएको उनले बताए ।
लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभइ आर्थिक संकटका कारण धेरै क्षेत्र प्रभावित भएको बताए । उद्योग–व्यवसाय आफै थला परेको अवस्थामा विज्ञापन अभाव रहेको उनले बताए । मिडिया आवश्यताका आधारमा मर्ज गर्नुपर्ने उनको भनाइ छ । औद्योगिक क्षेत्रलाई मिडियाले पनि सहयोग गर्न आवश्यक रहेको र औद्योगिक क्षेत्र कुनै न कुनै कारणले प्रभावमा पारेको उनले जनाए । ग्लोबल सञ्चार गृहका प्रबन्ध सम्पादक गौतम भुसालले अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसहरु आवश्यकता रहेकोमा जनाऐ । रेडियो मुक्तिको स्टेशन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगको रुपमा अगाडि बढाउनको लागि जरुरी रहेकोमा जोड दिइन् । लुम्बिनीखबरका सम्पादक/सञ्चालक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरको रुपमा बदल्न आवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गरेका थिए ।
कार्यसम्पादन गर्ने क्रममा आउने चुनौतीको सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेकोमा जनप्रतिनिधिले जोड दिएका छन् । स्थानीय सरकार, के गर्दैछन्, के गर्नुपर्छ भन्ने विषयमा आयोजित छलफल कार्यक्रममा जनप्रतिनिधिले यस्तो बताएका हुन् । बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रादेवी अर्यालले उपमहानगरपालिकाले गरेका कतिपय काम नागरिकलाई चित्त नबुझ्न सक्ने बताइन् । उनले सबै कुरा वार्ता र छलफलकै माध्यमबाट समाधान हुन सक्ने धारणा राखिन् । अफठ्यारो परे प्रमुख – उपप्रमुखसमक्ष आउनुस् भनेर बारम्बार भनिरहेकै छौं, यहाँहरु आइरहनुभएकै छ, उनले भनिन् । नगरपालिकाले गरेका असल अभ्यासबारे समाचार सम्प्रेषण गर्नुका साथै कमीकमजोरी पनि उजागर गर्न उनले मिडियालाई आग्रह गरिन् । त्यस्तै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले काम गर्ने क्रममा धेरै कानूनी जटिलता रहेको बताए । उनले नगरपालिकामा कर्मचारीको अभाव र स्थानीय स्रोत अत्यन्तै कम रहेको बताए । नगरमा कर प्रणालीलाई व्यवस्थित गरेका छौं, गर्नुपर्ने धेरै काम छन् । विकास निर्माण गर्दै जाने हो, Úनगरप्रमुख खरेलले भने ।
उनले देवदहमा सबैभन्दा ठूलो समस्या फोहोरमैला व्यवस्थापनकै रहेको बताए । खुल्ला रुपमा हाम्रो एकल अधिकार प्रयोग गर्न पाएका छैनौं उनले भने–अशिक्षा, गरीबीकाविरुद्ध लडिरहनुपरेको छ । देवदहले धेरै नमूनायोग्य कामहरु गरेको र नगरपालिकामा आएर अनुगमन गर्न उनले आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डीआर घिमिरेले मिडियाले समस्याको उठान गरिरहनुपर्नेमा जोड दिए । उनले आलोचनाबाट डराउन नहुने बताए । आलोचनाले समाधान निकाल्छ, परिणाम दिन्छ, त्यसैले आलोचनाबाट डराउनुहुँदैन उनले भने । स्थानीय सरकारको ध्यान कर उठाउनेतर्फ मात्र गयो कि भन्दै उनले प्रश्न गरे । स्थानीय सरकारले नागरिकलाई बाँध्ने होइन, सहजीकरण गर्ने हो, घिमिरेले भने । कार्यक्रममा कुखुरापालक किसान विशाल थापाले मैले आर्जन गरेको शिक्षाले गुजारा चल्छ कि चल्दैन भनेर सोच्नुपर्ने बेला आएको बताए । उद्योगी कृष्ण प्रसाद पाण्डेले स्थानीय सरकारले लगानी गरेको तालिमबाट कत्तिको प्रतिफल प्राप्त भयो भन्ने कुरामा ध्यान दिनुपर्ने बताए ।
फर्निचर व्यवसायी नेत्र रुचालले घुमन्ते र बिना दर्ता घरघरमा पुगेर काम गर्ने व्यक्तिहरुका कारण उद्योग दर्ता गरेर सञ्चालन गरेर उद्योग–व्यवसाय सञ्चालन गरेका उद्योगी–व्यवसायी पीडित रहेको बताए । उद्योगी मणि खनालले तरकारी तथा फलफूमा अत्याधिक विषादी भेटिएकोले यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यान जान आवश्यक रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघको सह–कोषाध्यक्ष धनकुमारी खनालले तालिमबाट कतिजना उद्यमी–व्यवसायी बन्नुभयो भन्नेबारे बहस जरुरी रहेको बताइन् । व्यवसायी लक्ष्मीप्रसाद श्रेष्ठले बुटवलमा रात्रीकालीन बजार अगाडि बढाउनुपर्ने बताए । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ, रुपन्देहीको उपाध्यक्ष अस्मिना पाण्डेले गरेकी थिइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)