Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

  • 690
    SHARES

  • प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

    काठमाडौँ, वैशाख २५

    सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्तिका लागि सिफारिस हुनुभएको छ ।

    रोलक्रमको चौथो नम्बरमा रहनुभएका शर्मा प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको हो । प्रधान न्यायाधीश सिफारिसमा पहिलो पटक रोलक्रम तोडिएको हो । वरिष्ठतामा न्यायाधीश शर्माभन्दा अघि तीन जना हुनुहुन्थ्यो । कायममुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुँयाल शर्माभन्दा अघि हुनुहुन्थ्यो । संसदीय सुनुवाइको प्रक्रियाले पूर्णता पाई अनुमोदित भएमा शर्मा प्रधान न्यायाधीश नियुक्त हुनुहुने छ ।

    संवैधानिक परिषद् सदस्य एवं राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दुई सदस्यका फरकमतबिच शर्मा सिफारिस हुनुभएको बताउनुभयो । शर्माको सिफारिसमा अध्यक्ष दाहाल र प्रतिनिधि सभामा प्रमुख प्रतिपक्ष दलका नेता भीष्मराज आङदेम्बेले फरकमत राख्नुभएको छ । नियमित परम्परा र वरिष्ठताक्रम तोडिएकोमा दुई सदस्यले फरकमत राख्नुभएको हो । संवैधानिक  परिषद् अध्यक्ष एवं प्रधानमन्त्री  वालेन्द्र शाहले भने योग्यता, क्षमताका आधारमा शर्मालाई नियुक्ति सिफारिसको प्रस्ताव बैठकमा गर्नुभएको थियो । 

    न्याय परिषद् सचिवालयले प्रधान न्यायाधीशका लागि संविधानले तोकेको योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषदमा पठाएको थियो । छ जनामध्ये चौथो वरीयतामा रहनुभएका शर्मा नियुक्तिका लागि सिफारिस हुनुभएको हो । रोस्टरमा डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठसमेत हुनुहुन्थ्यो । 

    संसदीय सुनुवाइबाट अनुमोदित भई नियुक्त भएमा शर्माले प्रधान  न्यायाधीशका रूपमा संविधानले तोकेको छ वर्षको अवधि कार्यकाल पूरा गर्नुहुने छ । पदको अधिकतम समय पूरा गरेर शर्मा अवकाश हुनुहुने छ । हालसम्मका अधिकांश प्रधान न्यायाधीश ६५ बर्से उमेरहदका कारण अवकाश पाउँदै आएका छन् । २०२७ साल असार ४ गते पर्सामा जन्मनु भएका शर्मा प्रधान न्यायाधीश नियुक्त भएमा छ बर्से कार्यकाल पूरा गरेर २०८९ मा अवकाश पाउनुहुने छ । शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनुभएको थियो । 

    २०७० जेठ २७ मा तत्कालीन पुनरावेदन अदालतमा अतिरिक्त न्यायाधीशमा नियुक्त भई शर्माले २०७२ मङ्सिर २६ गतेसम्म काम गर्नुभएको थियो । २०७२ असोज ३ गते जारी नेपालको संविधान र त्यसपछि तर्जुमा कानुनसमेतले अतिरिक्त न्यायाधीशको पद बचाउ नगरेपछि शर्मा अतिरिक्तबाटै बिदा हुनुभएको थियो । न्याय प्रशासन ऐन जारी भएपछि भएका नियुक्तिमा उहाँलाई उच्च अदालतको न्यायाधीशमा समेत सिफरिस गरिएको थिएन । तर तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा उहाँलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो । 

    प्रधान न्यायाधीशमा सिफारिस शर्माले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक र भारतको पुणे विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । शर्माले श्रम कानुनमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएको छ । तत्कालीन पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त हुनुअघि उहाँ कानुन व्यवसायमा क्रियाशील हुनुहुन्थ्यो ।  

    प्रस्तावित प्रधानन्यायाधीशको फैसलादर उच्च

    सर्वोच्च अदालतमा वर्षौँदेखि थाँती रहेका मुद्दाको बोझलाई कम गर्दै न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न सक्ने नेतृत्वको खोजी भइरहेका बेला संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ। 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको परिषद्को बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, बैशाख २५ २०८३११:१४:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology