बुटवल,वैशाख २३।
सिद्धार्थनगरस्थित रोयल कालिङ्गा क्यासिनोमा जुवा खेलिरहेको आरोपमा प्रहरीले १९ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । क्यासिनो नियमावलीविपरीत जुवा खेलिरहेको आरोपमा सिद्धार्थनगर–१० स्थित रोयल कालिङ्गा क्यासिनोबाट मङ्गलबार राति प्रहरीले उहाँहरूलाई नियन्त्रणमा लिएको हो ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरीको संयुक्त टोलीले जुवा खेलाउने चार र खेल्ने कार्यमा संलग्न १५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनुभयो । उहाँका अनुसार सिद्धार्थनगर-६, गल्लामण्डीका अभयकुमार गुप्ता, सिद्धार्थनगर–२ का सुशान्त अधिकारी, सिद्धार्थनगर–१३ का सन्जय शाक्य र ओमसतिया-२ का निर्क्षेद नेपाल रहेका छन् ।
प्रहरीको संयुक्त टोलीले जुवा खेलाउने चार र खेल्ने कार्यमा सङ्लग्न १५ जनालाई नियन्त्रणमा लिएको हो ।काठमाडौँका जीवन थापा, रूपन्देहीका आकाश गुप्ता, सुनारी मगर, अब्दुल कलाम जोलहा, अभिषेक शर्मा, शिव पाण्डे, रोहन बिक भनिने तिलबहादुर बिक, सुरज जयसवाल,निरज गुप्ता, रमेश यादव, निर्मल बस्याल र भरत थापा पक्राउ पर्नुभएको हो ।
त्यस्तै गुल्मीका नेत्र पोखरेल, ललितपुरका बाबुराजा महर्जन र पर्साको वीरगन्ज–७ का जंगकुमार अग्रवाल पनि पक्राउ पर्नुभएको छ ।उहाँहरूको साथबाट ९५ हजार पाँच सय रुपियाँ, विभिन्न कम्पनीका १७ थान मोबाइल र ५० थान क्यासिनो क्वाइन बरामद भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । रूपन्देहीमा ठूलाठाला गरी करिब एक दर्जन क्यासिनो सञ्चालनमा छन्।
एक महिनाअघि प्रहरीले रूपन्देहीको मणिग्रामस्थित सीएमजी क्लब क्यासिनोमा छापा मारेर जुवा खेलेको र खेलाएको आरोपमा नेपाली नागरिक पक्राउ गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)