काठमाडौं वैशाख, २३ ।
गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।उनीहरुले गुल्मीका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ ।
पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी छन् ।
कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा घिमिरेको हत्या भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार प्रहार भएको थियो ।
गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)