बुटवल,बैसाख १२ ।
रुपन्देही क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य सुलभ खरेलले नेपालकै नमूना सामुदायिक क्याम्पसको रुपमा परिचीत लुम्बिनी वाणिज्य क्याम्पसको अवलोकनका साथै क्याम्पसमा पुगेर अन्तरक्रिया तथा छलफल गर्नुभएको छ ।
क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले क्याम्पसमा स्वागत गरेपछि माननीय खरेल सहितको टोलीले क्याम्पसको भौतिक अवस्थाको अवलोकन गरेको थियो ।
अवलोकन पछि भएको अन्तरक्रिया कार्यक्रममा क्याम्पस प्रमुख उपाध्यायले क्याम्पसको विभिन्न विषयहरुका बारेमा जानकारी गराउनुभएको थियो भने अन्तरक्रिया कार्यक्रममा माननीय खरेलले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी २०३८ सालमा स्थापित लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग, नेपालबाट नेपालमै पहिलोपटक तेस्रो चरणको क्यूएए प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गर्दै यस क्षेत्रको गौरवको रुपमा रहेकाले यस क्याम्पस आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।
क्याम्पस प्रमुख उपाध्यायले उठाउनुभएका विभिन्न समसामयिक विषयहरुमाथि सम्बोधन गर्दै क्याम्पस सभाका पदेन सदस्य समेत रहनुभएका खरेलले क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया, पाठ्यक्रम स्वीकृतिका लागि भएका समस्या, उद्यमशिलता पर्वद्धनका कार्यक्रमहरु, शिक्षा क्षेत्रमा देखिएका नीतिगत समस्याहरुले पारेका असर लगायतका विषयमा सहयोग गर्ने तथा समाधान निकाल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले सामुदायिक क्याम्पसहरुलाई प्रोत्साहन गर्नु सबैको दायित्व भएकाले लुम्बिनी वाणिज्य क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि आफ्नो तर्फबाट गर्नुपर्ने हर प्रयासहरु निरन्तर जारी रहने बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)