बुटवल,बैसाख ११
लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को प्रतिनिधिमण्डलले भन्सार कार्यालय सुनौली पुगेर भन्सारमा लागू गरिएको कडाइलाई निरन्तरता दिन आग्रह गरेको छ ।
समुन्द्रपारबाट आयात हुने वस्तुमा लाग्ने दस्तुर, मूल्यांकन तथा एमआरपी (अधिकतम खुद्रा मूल्य) सम्बन्धी विषयमा जानकारी लिने उद्देश्यले भएको अन्तरक्रियामा प्रतिनिधिमण्डलले चोरी पैठारी नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिएको हो ।
भन्सार प्रमुख हरिहर पौडेलसँग भएको छलफलमा एसोसिएसनका अध्यक्ष गणेशप्रसाद भट्टराईले नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै हुने अवैध आयातले वैध व्यवसाय प्रभावित भइरहेको बताए ।
उनले कर तिरेर सञ्चालन हुने व्यवसायीलाई संरक्षण गर्न राज्यका निकाय अझ जिम्मेवार र सक्रिय हुनुपर्ने धारणा राखे । अध्यक्ष भट्टराईले भन्सारमा सुरु गरिएको कडाइलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके मात्र राजस्व चुहावट रोक्न र प्रतिस्पर्धी बजार वातावरण बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
भन्सार प्रमुख हरिहर पौडेलले नयाँ नीति तथा नियममार्फत व्यवसायीमैत्री वातावरण सिर्जना गर्ने योजना अघि बढाइएको जानकारी दिएका छन् । उनले पारदर्शिता, सहजता र प्रक्रियागत सुधारलाई केन्द्रमा राखेर भन्सार सेवामा परिवर्तन ल्याउने तयारी भइरहेको बताए ।
कार्यक्रममा नाडाका महासचिव रामप्रसाद बेलबासे, उपाध्यक्ष कृष्ण भण्डारी, सदस्य कमलप्रसाद न्यौपाने, दिनेश आमत्य तथा कार्यालय सचिव शिवहरी भण्डारीको सहभागिता रहेको थियो । प्रतिनिधिमण्डलले भन्सार प्रशासनसँगै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई समेत भेटेर चोरी पैठारीबाट भित्रिने वस्तुहरूमा कडाइलाई निरन्तरता दिन आग्रह गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै अवैध रूपमा भित्रिने वस्तुहरूमा कडाइका साथ निगरानी गरिने आश्वासन दिएका छन् ।सीमा क्षेत्रमा निगरानी बढाउने, समन्वयलाई प्रभावकारी बनाउने र अवैध कारोबार नियन्त्रणका लागि आवश्यक कदम चालिने प्रतिवद्धता जनाए ।
प्रतिनिधिमण्डलले भन्सार, प्रशासन र सुरक्षासम्बन्धी निकायबीचको समन्वयले मात्र अवैध कारोबार नियन्त्रण गर्न सकिने भन्दै कडाइलाई कागजमा सीमित नराखी व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)