बुटवल भदाै २४ ।
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेपा वीपि कोईरालाले लिएको नीति तथा आदर्श र सिद्धान्तलाई कहिल्यै पनि भूल्न नसकिने बताउनुभएको छ ।
पार्टीका संस्थापक नेता वीपि कोईरालाको जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले बुधबार आयोजना गरेको ‘जननायक वीपि कोईरालाको प्रजातान्त्रिक समाजवाद, नेपाली काँग्रेस र नेपालको राजनीतिक अवस्था’ विषयक भिडियो अन्तरसंवाद कार्यक्रममा बोल्दै सभापति देउवाले वीपिले लिएको नीति र सिद्धान्त नेपालको परिवेश अनुसारको भएकाले उहाँको नीति र सिद्धान्तलाई छोड्न नसकिने बताउनु भएको हो ।
२००७ सालमा नेपाली काँग्रेसले गरेको लोकतान्त्रिक आन्दोलनमा वीपिको योगदान अतुलनीय रहेको बताउँदै वीपिकै योगदान र दुरदर्शिताका कारण मुलुकमा बहुदलीय व्यबस्था स्थापना तथा संविधान सभाका माध्यमबाट संविधान बनाउने काम पुरा भएको उहाँले स्मरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. सशांक कोइरालाले ‘ठूलो मान्छे भन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने वीपिको (दर्शन) प्रचार प्रसार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले वीपिले प्रजातन्त्रकालागि धेरै दुःख गरेको स्मरण गर्दै प्रजातन्त्रको लडाईमा लामो समयसम्म जेल नेल सहनु परेको बताउनुभयो ।
त्यस्तै गरी पूर्वउपप्रधान तथा पार्टी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले वीपि काँग्रेसका लागि मात्रै नभएर सबैका लागि उदाहरणीय र प्ररणाको स्रोत भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै उहाँले सरकारको समेत आलोचना गर्नुभयो । कोरोना महामारीका कारण बिदेशी भूमिका काम गर्न गएका युवाहरु वेरोजगार भई उद्धार चाहेपनि सरकारले उद्धार गर्न नचाहेको बताउनु भयो ।
पार्टीका केन्द्रीय सदस्य तथा संघीय संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले वीपि र काँग्रेस एक आपसमा पर्यावाची जस्तो भएको टिप्पणी गर्नुभयो । संविधान प्रदत्त अधिकारलाई प्रधानमन्त्रीले निस्तेज गर्न खोजेको औंल्याउँदै उहाँले स्वतन्त्र प्रेस, मानव अधिकार, नागरिक अधिकारमा संकुचन गर्न खोजीएको बताउँदै त्यसको बिरोध गर्नुभयो ।
सरकारले किसान, मजदुर, उद्योगी, व्यबसायी सबैलाई सताउने काम गरेको आरोप लगाउँदै मुलुकमा सरकार भएपनि नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गर्नुभयो । नेपाली काँग्रेसले सरकारलाई पटक पटक सुझाव सल्लाह दिँदै आएपनि त्यसको सुनुवाई समेत नगरेको पूर्वमन्त्री समेत रहनुभएका नेता खाँणले उल्लेख गर्नुभयो ।
काँग्रेस नेता तथा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दुई तिहाईको कम्युनिष्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भयो । मुलुक कोरोना भाईरसको महामारीमा भएका बेला पनि स्वास्थ्य उपकरण खरिद तथा पूर्वाधार निर्माणका काममा चरम भ्रष्टाचार भएको उहाँले औंल्याउनु भयो ।
त्यस अवसरमा उद्योगपति तथा प्रतिनीधि सभा सदस्य बिनोद चौधरीले काँग्रेसका संस्थापक नेता वीपिलाई उदार अर्थनीतिको परिकल्पनाकारका रुपमा चित्रण गर्नुभयो । काँग्रेसले लिएको उदार अर्थनीतिकै कारण २०४८ सालयता आन्तरिक मात्रै नभएर मुलुकमा बाह्य लगानी समेत भित्रिएको स्मरण गर्नुभयो । अहिले मुलुकमा कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार भएपनि मुलुकको अर्थतन्त्र नराम्रोसंग ओरालो लागेको उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाकको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति रामचन्द्र ढकाल, उपसभापति फणेन्द्र शर्मा, क्षेत्रीय सभापति हिराबहादुर खत्री, बुटवल नगर सभापति खेलराज पाण्डे लगायतका नेताहरुले वीपिको नेतृत्वमा २००७ सालमा भएको आन्दोलनले प्रजातान्त्रिक मुलुकको रुपमा विश्वमा नेपाललाई चिनाएको बताउनु भएको थियो ।
उहाँहरुले वीपिले लिएको नीति सिद्धान्त र आजको परिवेशको मल्यांकन गर्नुपर्ने र पार्टीका नेताहरुमा भावनात्मक एकता हुन सकेन भने मुलुकको लोकतान्त्रिक पद्धती पनि समाप्त हुने भएकाले कमजोरी केलाउन र गल्ती सच्याउन आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खाँण तथा जुम एप्सको होस्ट नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले गर्नुभएको थियो ।
यता बुटवलमा वीपी जयन्तीको अवसरमा आज नेपाली कांग्रेस बुटवल नगर समितिले विपिको शालिकमा मल्याणपण गरेको छ । नगर सभापति खेलराज पाण्डेयको उपस्थितीमा वुटवलको विपि चोकमा रहेको विपिको शालिकमा माल्यार्णपण गरिएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)