बुटवल, चैत २८ ।
ब्राह्मण समाज नेपाल बुटवल उपमहानगरपालिका कमिटीको छैठौं साधारणसभा तथा ब्राह्मण जागरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर अध्यक्ष हरिप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त सभामा ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा. डा. नारायणप्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा सचिव नारायण भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
सभाको सुरुवात शुभकामना मन्तव्य, शंखध्वनी तथा स्वस्तिवाचनबाट भएको थियो । त्यसपछि अध्यक्ष हरिप्रसाद उपाध्यायले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष श्याम प्रसादले आर्थिक प्रतिवेदन पेस गर्नुभयो । लेखा समितिका संयोजक वेदप्रसाद गैरेले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सबै प्रतिवेदनहरू सर्वसम्मत रूपमा पास भएका छन् ।
कार्यक्रममा बुटवलका १९ वटै वडाहरूको तर्फबाट प्रतिनिधित्व गर्दै बुटवल वडा नं. १३ बाट वडा सभापति खिमानन्द पौडेल ,गणेश घिमिरेले बोलेका थिए । उहाँहरूले ब्राह्मण समाजको एकता, जागरण र सामाजिक योगदानका विषयमा जोड दिनुभएको थियो ।
सभामा कुल ३५० जना भन्दा बढी ब्राह्मण समाजका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ब्राह्मण समाजको संगठनात्मक सुदृढीकरण, सामाजिक जागरण, शिक्षा तथा संस्कृति संरक्षणका विषयमा छलफल भएको थियो ।
प्रमुख अतिथि प्रा. डा. नारायणप्रसाद अधिकारीले ब्राह्मण समाजलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दै आत्मरक्षा, धर्मरक्षा र सामाजिक कल्याणमा सक्रिय रहनुपर्ने बताउनुभयो ।
सभाले आगामी दिनमा समाजको गतिविधिलाई थप प्रभावकारी बनाउने निर्णयहरू समेत पारित गरेको छ । कार्यक्रम भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)