बुटवल,चैत २० ।
ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकेडेमी) को आठौँ वार्षिकोत्सव सम्पन्न भएको छ।
विद्यालयकी निर्देशक पुष्पा कँडेलको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं निर्देशक डिल्लीनारायण पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुभेच्छुक तथा अभिभावकको हरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विभिन्न विधा तथा क्याटोगरीमा सम्मानित गरिएको थियो।
सो अवसरमा विद्यार्थीहरूले नाटक, नृत्य, गीत, सङ्गीत तथा कला प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई प्रमुख अतिथि डिल्लीनारायण पाण्डेय , निर्देशक पुष्पा कँडेल, संस्थापक श्यामलाल खरेल, संस्थापक प्राचार्य राजेन्द्र कुँवर, सहप्राचार्यद्वय महेश पौडेल क्षेत्री र उमेश कँडेल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले ब्रिटिस ग्रामर स्कुलले नेपालको शैक्षिक क्षेत्रमा ल्याएको नवीन सोच र अभ्यास अनुकरणीय रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि आफ्ना बालबालिकालाई काठमाडौं वा विदेश पठाउनुपर्ने बाध्यता कम हुँदै गएको उल्लेख गर्दै निजी क्षेत्रमैत्री नीति आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शैक्षिकसँगै नयाँनयाँ शैक्षिक कार्याशाला , प्रविधि र अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिएको उल्लेख गरियो। कार्यक्रम ‘विद्यार्थीद्वारा, विद्यार्थीका लागि’ भन्ने अवधारणामा सञ्चालन गरिएको थियो, जसको संयोजन, सञ्चालन र व्यवस्थापनमा विद्यार्थीहरूको सक्रिय भूमिका रहेको थियो। शिक्षक तथा विषय संयोजकहरूले आवश्यक सहजीकरण गर्नुभएको थियो।
ब्रिटिस ग्रामर स्कुल रुपन्देही, ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गत सञ्चालित अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था हो। यसका भगिनी संस्थाहरू चितवन, पोखरा, काठमाडौंका साथै दुबई, क्यानडा र बेलायतमा समेत रहेका छन्।
मोफसल क्षेत्रकै एकमात्र क्याम्ब्रिज सर्टिफाइड विद्यालयका रूपमा स्थापित यस विद्यालयले अन्तर्राष्ट्रिय स्तरअनुसार शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ। संस्थापक प्राचार्य राजेन्द्र कुँवरले अभिभावकहरूलाई आफ्ना नानीबाबुको उज्ज्वल भविष्यका लागि विद्यालयसँग सहकार्य गर्न आग्रह गर्नुभयो।
साथै, शैक्षिक सत्र २०८३ का लागि कक्षा पीजीदेखि कक्षा ९ सम्म सीमित सिटमा भर्ना खुला गरिएको जानकारी दिँदै समयमै सिट सुरक्षित गर्न अनुरोध गर्नुभएको छ। हाल नेपालका विभिन्न जिल्ला लगायत छिमेकी देश र विदेशी विद्यार्थीहरुसमेत अध्ययनरत यस विद्यालयले स्थापना कालदेखि नै कक्षा ८, एसईई तथा कक्षा १२ मा सतप्रतिशत नतिजा हासिल गर्दै मोफसल क्षेत्रमै उत्कृष्ट शैक्षिक इतिहास निर्माण गर्न सफल भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)