बुटवल,चैत्र १८ ।
बुटवल उपमहानगरपालिकाले मकै पकेट क्षेत्रका किसानलाई कृषि सामग्री तथा उपकरण उपलब्ध गराएको छ। उपमहानगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा ज्याप प्लान्टर १० थान, तराजु ५ थान, मिल २ थान तथा विल सिडरलगायतका सामग्री वितरण गरिएको हो।
बुधबार बुटवल–१४ मोतीगञ्जमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिलाई उक्त उपकरण हस्तान्तरण गर्नुभयो। सो अवसरमा उहाँले तिनाउ पश्चिम क्षेत्रका वडाहरूलाई कृषि उत्पादनमा अग्रणी बनाउन उपमहानगरपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको बताउनुभयो।
नगरप्रमुख पाण्डेयले बुटवललाई मकै पोल्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै किसानले उत्पादन गरेको मकै आफैंले बिक्री गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो। “किसान आफैंले उत्पादन र बिक्री गर्ने व्यवस्था भएमा आम्दानीको ठूलो हिस्सा किसानकै हातमा पर्छ,” उहाँले भन्नुभयो, “यसका लागि नगरले आवश्यक व्यवस्थापनको उपाय खोजिरहेको छ।” साथै, कृषि उत्पादनको बजारीकरणलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो।
कार्यक्रममा वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपाने र वडा नम्बर १९ का अध्यक्ष चन्द सिंह थापाले समेत कृषि क्षेत्रको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो।
मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका संयोजक तुल्सीप्रसाद पौडेलका अनुसार यस वर्ष ३५.५ विघा क्षेत्रफलमा व्यावसायिक मकै खेती गरिएको छ। २०७९ सालमा वडा नं १४ र १९ को मोतीगञ्जलाई मकै पकेट क्षेत्र घोषणा गरिएपछि १६ जना कृषकबाट सुरु भएको व्यावसायिक खेती अहिले ५३ जना कृषकसम्म विस्तार भएको छ।
गत वर्ष करिब १ करोड रुपैयाँ बराबरको मकै बिक्री भएकोमा यस वर्ष १ करोड ३० लाख रुपैयाँको हरियो मकै बिक्री गर्ने लक्ष्य राखिएको छ। पकेट क्षेत्र सञ्चालन भएपछि उपमहानगरपालिकाले किसानलाई बिउ, प्राविधिक सहयोग, उपकरण, जोताइ खर्च, मजदुरी तथा मलखादमा सहयोग गर्दै आएको मोतीगञ्ज मकै पकेट सञ्चालन समन्वय समितिका सचिव मुक्ति गैरे अर्जुनले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)