बुटवल,चैत१८ ।
बुटवलका युवा व्यवसायी पंकज राईले पश्चिमाञ्चल यातायात व्यवसायी समितिको अध्यक्षमा उठ्ने घोषणा गरेका पंकज राइले प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
उनले बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि १४ बुँदे प्रतिबद्धतासहित अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् ।
राईले आफू विजयी भएमा समितिभित्र रहेका व्यवसायी, स्वरोजगार र मजदुरबीच समन्वय र एकताको भावना विकास गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले सडक दुर्घटना व्यवस्थापनलाई आधुनिक बनाउँदै मोबाइल एप प्रणाली विकास गर्ने, चालक तथा सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, बीमा, तालिम तथा नियमित स्वास्थ्य परीक्षणको व्यवस्था सुनिश्चित गर्ने योजना अघि सारे।
त्यस्तै, चालकहरूको स्वास्थ्य तथा दुर्घटना बीमालाई नियमित बनाउने, व्यवसायी र कर्मचारीबीच सम्मानजनक तथा सहकार्यमा आधारित सम्बन्ध विकास गर्ने, र काठमाडौंमा पार्किङ व्यवस्थापन तथा चोरी नियन्त्रणका लागि प्रभावकारी सुरक्षा प्रणाली सुदृढ गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
राईका अनुसार भारतीय नम्बर प्लेटका सवारी साधनलाई नेपालमा बस्न दिइने हालको ७२ घण्टे समयसीमालाई घटाएर २४ घण्टामा सीमित गर्न पहल गरिनेछ।
साथै, रोड परमिट प्रक्रियालाई सरल बनाउँदै वर्षमा एकपटक मात्रै नवीकरण हुने व्यवस्था लागू गराउने, टोल–फ्री हेल्पलाइनमार्फत आपतकालीन सेवा प्रदान गर्ने, तथा सुरक्षित सवारी सञ्चालनका लागि चालक–सहचालकलाई समय–समयमा तालिम दिने योजना रहेको छ।
उनले प्यान र भ्याट प्रयोगमा सहजता ल्याउने, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनका लागि हेल्प डेस्क स्थापना गर्ने र सदस्यता विस्तारलाई सशक्त बनाउँदै प्रचार–प्रसारलाई तीव्रता दिने समेत बताए।
समितिमा करिब २ हजार ट्रक र १ हजार ३ सय जति व्यवसायी आबद्ध रहेको बताइन्छ। यसपटकको निर्वाचनमा राईसहित अन्य दुई समूहले पनि प्यानलसहित उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ।
यही चैत २० र २१ गते हुने समितिको २५औँ वार्षिक साधारणसभा तथा १४औँ अधिवेशन हुँदै छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)