बुटवल,चैत्र १७ ।
दोस्रो एफ एनजे मिडिया कप २०८२ को उपाधि ग्लोबल आवाज डटकमले चुमेको छ । नेपाल पत्रकार महासङ्घ रुपन्देही शाखाले ७१ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको फुटसल प्रतियोगितामा मिडिया कप तर्फ ग्लोबल आवाज र कर्पोरेट फुटसल तर्फको उपाधि नेपाल युवा उद्यमी मञ्च रूपन्देहीले जितेको हो ।
मङ्गलवार सम्पन्न भएको फाइनल खेलमा ग्लोबल आवाजले बुद्ध सामुदायिक टेलिभिजनलाई ३-२ गोल अन्तरले हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । जितसँगै ग्लोबल आवाजले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बुद्ध सामुदायिक टेलिभिजनले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित बुझाएको छ । गत वर्ष पनि बुद्ध सामुदायिक टेलिभिजनलाई नै हराउँदै पहिलो एफ एनजे मिडिया कपको उपाधि जितेको थियो । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, ग्लोबल आवाजकै प्रकाश न्यौपाने उत्कृष्ट गोलरक्षक तथा बुद्ध टिभीका स्वस्तिक श्रेष्ठ सर्वाधिक गोलकर्ताका रूपमा पुरस्कृत भएका थिए ।

कर्पोरेट फुटसलतर्फ नेपाल युवा उद्यमी मञ्च रुपन्देही च्याम्पियन :
यस्तै कर्पोरेट फुटसल तर्फ गत वर्षको विजेता नेपाल ईन्जिनियरीङ एसोसिएसन रूपन्देहीलाई २-० को गोल अन्तरले पराजित गर्दै यस पटकको उपाधि नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले हात पारेको छ । जितसँगै नेपाल युवा उद्यमी मञ्चले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । साथै प्रतियोगितामा उपविजेता बनेको नेपाल ईन्जिनियरीङ एसोसिएसनले नगद २० हजार, ट्रफि, मेडल र प्रमाण पत्रमा चित बुझाएको छ ।
प्रतियोगितामा नेपाल युवा उद्यमी मञ्चका राहुल कसौधन उत्कृष्ट गोल रक्षक,मन्जिल विक सर्वोत्कृष्ट खेलाडी र नेपाल ईन्जिनियरीङ एसोसिएसन रुपन्देहीका कृतेश श्रेष्ठ सर्वाधिक गोलकर्ताको पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रतियोगितामा विजेता र उपविजेताहरुलाई एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्रबहादुर खत्री, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेल, महासङ्घका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेय लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २० वटा समूह तथा मिडिया कप फुटसल प्रतियोगिता अन्तर्गत रुपन्देहीका ६ वटा सञ्चार संस्थाकाे सहभागिता रहेको कार्यक्रम संयोजक सुमन श्रेष्ठले बताए । प्रतियोगिताको अनुशासित टिमका रूपमा ई क्यान रुपन्देहीलाई सम्मान समेत गरिएको थियो ।
अधिकारीलाई खेलकुद पत्रकारिता पुरस्कार :
यस्तै कार्यक्रममा पत्रकार सुमन अधिकारीलाई खेलकुद पत्रकारिता पुरस्कारबाट नगदसहित सम्मान गरिएको थियो । गत वर्षको फुटसल प्रतियोगिताबाट बचत भएको रकमबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई सम्मान गर्ने गरी अक्षयकोष स्थापना गरेको थियो ।

अधिकारलाई सोही अक्षयकोषबाट नगद २५ हजारसहित सम्मान गरिएको पत्रकार महासङ्घ रुपन्देहीका सचिव सिपि खनालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)