Logo बिहिवार, आश्विन १ गते २०८३
images

यी हुन् विज्ञता अनुसारका जिम्मेवारी पाउने मन्त्रीहरू  

यी हुन् विज्ञता अनुसारका जिम्मेवारी पाउने मन्त्रीहरू  

  • 930
    SHARES

  • यी हुन् विज्ञता अनुसारका जिम्मेवारी पाउने मन्त्रीहरू  

     संघीय लोकतान्त्रिक गणतन्त्रपछि देशले पहिलो युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र साह (बालेन) लाई पाएको छ। बालेन ऐतिहासिक जेनजी विद्रोहपछिको प्रतिनिधिसभा निर्वाचनमा दुईतिहाइ नजिकको बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरका पूर्वप्रमुख हुन्।  

    शुक्रबार शुभसाइत जुराएर शंखनाद, स्वस्तिक तथा मंगलवाचनसहित राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएर बालेनले प्रधानमन्त्रीको पदभार ग्रहण गरिसकेका छन्। बालेन क्याबिनेटका नवनियुक्त मन्त्रीहरूले पनि शुक्रबार शपथसँगै पदभार सम्हालिसकेका छन्।  

    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
    विज्ञता र अनुभवका आधारमा मन्त्रालयको जिम्मेवारी पाउने मन्त्रीको पहिलो नम्बर सूचीमा पर्छन् डा. स्वर्णिम वाग्ले। तनहुँ- २ बाट दोस्रो पटक निर्वाचित प्रतिनिधिसभा सदस्य वाग्ले रास्वपाका उपभापति हुन्। वाग्लेले अष्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।  
    अनुभावका आधारमा पनि उनी निक्कै अघि छन्। उनले राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार, सर्वाङ्गीण विकास अध्ययन केन्द्र (आईआईडीएस) देखि विश्व बैंकमासमेत काम गरेको अनुभव छ। 
    सन् २०२२ मा क्याम्ब्रिज युनिभर्सिटीको ‘द ग्रेट अपहिभेल’को सह–सम्पादकका रूपमा काम गरेका उनले काठमाडौँ विश्वविद्यालयसँग जोडिएर पनि काम गरेका थिए। 
    नेपालमा अर्थतन्त्र सुधारको क्षेत्रमा वकालत गर्दै आएका वाग्लेलाई रास्वपा सभापति रवि लामिछानेले चुनाव अघि नै भावी अर्थमन्त्रीका रूपमा बजेट लेख्ने तयारी थाल्न निर्देशन दिएका थिए। 
    त्यसकारण सरकार गठन अघि अन्य मन्त्रीहरूका सन्दर्भमा द्विविधा भए पनि अर्थमन्त्री वाग्ले नै हुने निश्चित थियो। 
    रास्वपामा प्रवेश गर्नुअघि वाग्ले नेपाली कांग्रेसमा आबद्ध थिए। त्यसबेला राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर पनि उनले काम गरेका थिए। 
    सोविता गौतम , कानूनमन्त्री
    विज्ञताकै आधारमा मन्त्री बन्ने अर्की रास्वपा सांसद सोविता गौतम हुन्। कानुनकी विद्यार्थी उनलाई पार्टीले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएको छ। 
    चितवन ३ बाट तिजेकी त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेसनल कलेजबाट बीए-एलएलबी गरेकी छन्। सांसदका रूपमा अघिल्लो कार्यकाल काम गरिसकको अनुभव पनि उनीसँग छ। 
    ०७९ को निर्वाचनमा गौतमले काठमाडौँ २ बाट चुनाव जितेर पहिलो पटक संसदको यात्रा तय गरेकी थिइन्। दोस्रो कार्यकालका लागि सांसद बनेकी उनले अहिले आफ्नो विज्ञता भएकै क्षेत्रको मन्त्रालय सम्हाल्दैछिन्। 
    अघिल्लो संसद्को तीनवर्षे कार्यकालमा गौतमले संसदको कानून, न्याय र मानवअधिकार समिति सदस्य भएर काम गरेकी थिइन्।  
    राजनीतिमा आउनुअघि गौतम सञ्चार क्षेत्रमा थिइन्।  
    सुनिल लम्साल,  भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालय
    रूपन्देही- १ बाट निर्वाचित सुनिल लम्सालको नाम शुरुमा गृहमन्त्रीका रूपमा चर्चामा थियो। तर उनी भौतिक, पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बने। यो उनको विज्ञतासँग सम्बन्धित मन्त्रालय हो। 
    तिलोत्तमा नगरपालिका ७ का ३५ वर्षीय लम्साल पूर्वाधार क्षेत्रमा काम गर्दै आएका इन्जिनियर हुन्। उनी प्रधानमन्त्री बालेन काठमाडौँ महानगर प्रमुख रहँदा पूर्वाधार सल्लाहकार थिए।
    लम्साल फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनलाई केन्द्रमा रहेर काम गरेका व्यक्ति हुन्। उनी हाल काठमाडाैँ विश्वविद्यालयबाट फोहोर व्यवस्थापनमा विद्यावारिधि गरिरहेका छन्।
    मन्त्री लम्सालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायतका योजनामा समेत काम गरेका छन्।
    निशा मेहता, स्वास्थ्य तथा जनसंख्या र खानेपानी
    बिरामीको सेवामा आफैँ खटिँदा-खटिँदै स्वास्थ्य क्षेत्रको नीति निर्माणको नेतृत्वमा पुगेकी छन् निशा मेहता। समानुपातिक प्रणालीबाट सांसद बनेकी उनले आफ्नै अध्ययन कार्यानुभवसँग मिल्दो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हाल्दैछिन्। साथमा उनलाई खानेपानी मन्त्रालयको जिम्मा पनि दिइएको छ। 
    भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी निशाले सांसद बन्नुअघि विराट टिचिङ अस्पतालमा काम गर्थिन्।  
    सुनसरीको इनरूवाकी उनी रास्वपा केन्द्रीय सदस्यसमेत हुन्। उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन्।  
    उनको पारिवारिक संलग्नता पनि स्वास्थ्य क्षेत्रमै छ। उनका श्रीमान् डा. सरोज सिंह हुन्। प्रहरी नायव उपरीक्षक सरोज कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन्।
    यस्तो छ अन्य मन्त्रीहरूको पृष्ठभूमि 
    सुधन गुरूङ, गृहमन्त्री
    जेनजी आन्दोलनपछि एकाएक राष्ट्रिय राजनीतिमा उदाएका सुदन गुरुङ हेभीवेट मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन्। गोरखा १ को प्रतिनिधिसभा सदस्य हुँदै उनी अहिले गृहमन्त्री बनेका हुन्।
    ३८ वर्षीय गुरुङ गोरखाको चुमनुब्री गाउँपालिका- ३ सिर्दिवासस्थित पाङसिङ गाउँका हुन्। उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै हो। उनका बुबा दिलबहादुर गुरूङ तत्कालीन माओवादीमा आबद्ध थिए। 
    सुधन ‘हामी नेपाल’ का संस्थापक अध्यक्ष हुन्। उनले सामाजिक क्षेत्रमा काम पनि गरेका छन्। खासगरी २०७२ सालको भूकम्पका बेला उनले राहत तथा उद्धार क्षेत्रमा काम गरेका थिए।
    जेनजी आन्दालनपछि अन्तरिम सरकार निर्माणदेखि नै सिंगो जेनजी युवाको प्रतिनिधिका रूपमा देखिए। जसकारण उनलाई जेनजी आन्दोलन ‘हाइज्याक’ गरेको आरोपसेत लाग्यो। राजनीतिक, कानूनी र नीतिगत विषयमा अनविज्ञता झल्किने कतिपय अभिव्यक्तिका कारण उनी थप आलोचित भए। 
    तर निर्वाचनको मुखमा रवि र बालेन मिलाउन अग्रपंक्तिमा खटिएसँगै गुरुङको थप चर्चा चुलियो। उनले कुलमान घिसिङलाई समेत रास्वपामा भित्र्याउन भूमिका खेलेका थिए। तर कुलमान रास्वपाबाट केही समयमै बाहिरिए। 
    चुनाव जितेर सरकार गठनको तयारी हुँदै गर्दा गुरुङको नाम युवा तथा खेलकुद मन्त्रीका रूपमा चर्चा गरिएको थियो। तर अन्तिममा उनी गृहमन्त्री बने। 
    बालेन र रविले आफू निकटकालाई गृहको जिम्मा दिन चाहे पनि एकले अर्काको मान्छेलाई विश्वास गर्न नसकेपछि पार्टीभित्र तेस्रो धार मानिने गुरुङले मौका पाएका हुन्। 
    शिशिर खनाल, परराष्ट्रमन्त्री
    काठमाडाैँ- ६ बाट निर्वाचित सांसद शिशिर खनाल बालेन क्याबिनेका परराष्ट्रमन्त्री नियुक्त भएका छन्। अघिल्लो कार्यकालमा छोटो समय शिक्षामन्त्री बनेका उनी यसपटक हेभिवेट मन्त्रालयको जिम्मेवारी पाएका हुन्। 
    काठमाडाैँको गोंगबु बासिन्दा खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनमा सार्वजनिक नीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। 
    उनले सन् २०१२ मा ‘टिच फर नेपाल’ स्थापना गरे। यो संस्थाले सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्न स्वयंसेवी शिक्षकलाई दुर्गमका गाउँगाउँ पठाउने काम गरेको थियो। त्यसबाहेक शिक्षकहरूलाई आवश्यक पर्ने तालिम दिने लगायतका काम पनि यो संस्थाले गर्थ्यो।
    रास्वपा प्रवेशअघि खनाल कांग्रेसनिकट थिए। उनी २०७९ सालको स्थानीय निर्वाचन क्रममा कांग्रेसको घोषणापत्र बनाउने कार्यदलमा थिए। तर सोही वर्षको प्रतिनिधि सभा निर्वाचनमा  काठमाडाैँ- ६ मा रास्वपाबाट उनले सांसदीय यात्रा शुरु गरेका हुन्। 
    विराजभक्त श्रेष्ठ, ऊर्जामन्त्री
    दोस्रो संसद यात्रा र सँगै दोस्रोपटक पनि मन्त्री बन्ने भाग्यमानी सांसदभित्र पर्छन रास्वपाका विराजभक्त श्रेष्ठ। काठमाडाैँ ८ बाट लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित उनी अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।
    २०७४ मा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य रहेका श्रेष्ठ अघिल्लो कार्यकालमा रास्वपा गठबन्धन सरकारमा जाँदा युवा तथा खेलकुदमन्त्री बनेका थिए। 
    वाणिज्य तथा व्यापार प्रशासनमा स्नातक गरेका श्रेष्ठ उज्ज्वल थापाको नेतृत्वमा विवेकशील राजनीतिबाट उदाएका हुन्। उनले काठमाडाैँ महानगरमा पार्टी संगठन विस्तार तथा विभिन्न राजनीतिक र साँस्कृतिक अभियानमा सक्रिय भूमिका खेलेका थिए।
    जसपा नेपालका नेता शरदसिंह भण्डारीका ज्वाइँ रहेका श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन्।
    सस्मित पोखरेल, शिक्षा र युवा तथा खेलकुदमन्त्री
    संसद प्रवेशसँगै मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने मौका रास्वपाले सस्मित पोखरेललाई पनि दिएको छ। काठमाडाैँ-५ बाट निर्वाचित उनलाई शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालयको दिइएको छ।
    स्थापित दलका हेभीवेट उम्मेदवारहरू कांग्रेसका महामन्त्री प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेललाई पराजित गरेका पोखरेल मन्त्री बनेका हुन्। रास्वपाका केन्द्रीय सदस्य उनी प्रधानमन्त्री बालेननिकट मानिन्छन्।  
    कानून तथा नीति निर्माणमा विशेष चासो राख्ने २९ वर्षीय सस्मितले काठमाडाैँ विश्वविद्यालयबाट कानुन तथा व्यवस्थापनमा स्नातक गरेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालयमा नीति, सुशासन तथा भ्रष्टाचार निवारण विषयमा स्नातकोत्तर गरिरहेका छन्।
    पोखरेलले काठमाडाैँ महानगरपालिकामा बालेनको टिममा सहरी योजनासम्बन्धी सहायक विज्ञका रूपमा काम गरिसकेका छन् भने शिक्षासम्बन्धी नीति निर्माणमा पनि काम गरेको अनुभव उनीसँग छ। 
    विक्रम तिमल्सिना, सूचना तथा सञ्चारमन्त्री
    नुवाकोट १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य भएका विक्रम तिमल्सिना बालेन सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका छन्। उनी रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन्। 
    पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय तिमल्सिनाले अष्ट्रेलियाको ग्रेफथ विश्वविद्यालयको स्कुल अफ गभर्मेन्ट एण्ड इन्टरनेसनल रिलेसनबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्। 
    त्रिभुवन विश्वविद्यालयबाट पनि अंग्रेजीमा स्नातकोत्तर गरेका तिमल्सिनाले तीन वर्षदेखि त्रिविअन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल एकेडेमीमा ‘सुरक्षा व्यवस्थापन’ र त्रिविकै मानविकी संकाय अन्तर्गत ‘सुशासन तथा भ्रष्टाचार निवारण’ पनि अध्यापन गराउँथे।
    उनीसँग एसियन इन्स्टिच्युट फर एड्भान्स्ड रिसर्चमा अध्यक्ष तथा अनुसन्धान फेलोका रूपमा काम गरेको अनुभव छ। उनले नेपालमा अपांगता भएकाहरूको वित्तीय समावेशीकरण सम्बन्धी प्रोजेक्टमा पनि प्रमुख अनुसन्धानकर्ताका रूपमा काम गरेका थिए।
    सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
    बालेन क्याबिनेटमा सीता वादी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनेकी छन्। यससँगै सुर्खेत झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायको देशको सर्वोच्च थलोमा पहिलो पटक प्रतिनिधित्व भएको छ। 
    वादी रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन्। २०५२ सालमा वीरेन्द्रनगर- ११ को अस्थायी बस्तीमा जन्मिएकी उनले छुवाछूत, गरिबी र अभावको सामना गर्नुपर्‍यो।  
    १२ वर्षको किशोरवयमा एक सामाजिक संस्थाको सहयोगमा विद्यालय टेक्ने अवसर पाएकी उनले अनेकन् बाधा अड्चनबीच उनले राजनीतिशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी छन्।
    प्रतिभा रावल, सामान्य प्रशासन र भूमिमन्त्री
    रास्वपा स्थापनाकालदेखि नै जोडिएर सहप्रवक्ताको भूमिकामा रहेकी प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी छन्। उनी पार्टी सभापति रवि लामिछानेको यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री रहँदा सचिवालयमा समेत थिइन्। 
    कञ्चनपुर महेन्द्रनगरकी रावल पत्रकारिता हुँदै रविसँगै राजनीतिमा होमिएकी हुन्। नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन्। 
    सोही टेलिभिजनका कार्यकारी निर्देशक रहेका लामिछानेले पार्टी गठन गरेपछि रावलको पनि राजनीतिक यात्रा शुरु भएर अहिले मन्त्रीसम्म पुगेको हो। 
    खडकराज पौडेल (गणेश), पर्यटन तथा संस्कृतिमन्त्री
    कास्की- १ बाट चुनाव तिजेका खडकराज पौडेल (गणेश) बालेन क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्। 
    पौडेल लेखक हुन्। उनका दुई किताब ‘पैताला’ र ‘मुसा मानुस’ प्रकाशित छन्। ‘मुसा मानुस’ अमेरिकी लेखक जोन स्टेनबेकको कृतिको अनुवाद हो।
    पौडेलले यसअघि २०७९ सालको स्थानीय निर्वचनमा पोखरा महानगरको स्वतन्त्र मेयरमा उम्मेदवारी दिएका थिए, तर पराजित भए। त्यसपछि बालेनलाई नजिकबाट सहयोग गरेका उनी बालेनसँगै चुनावअघि रास्वपामा आएका हुन्। 
    गीता चौधरी, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री
    साधारण थारू परिवारमा जन्मिएकी कञ्चनपुरकी ३३ वर्षीय गीता चौधरी नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री हुन्। उनको बाल्यकाल गरिबीसँग संघर्ष गर्दै बित्यो। त्यसका बाबजुत पनि उनले कानून संकायमा स्नातकोत्तर गरेकी छन्।
    सांसद बन्नु अघिसम्म उनी अधिवक्ताकै रूपमा गर्थिन्। खासगरी दीनदु:खीका लागि उनले वकालत तथा कानूनी सहायता प्रदान गर्दै आएकी थिइन्। 
    राजनीतिक यात्रा भने उनले २०६२/०६३ को आन्दोलनदेखि नै प्रारम्भ गरेकी हुन्। एमालेनिकट अनेरास्ववियुबाट उनले राजनीतिक यात्रा शुरु गरेकी थिइन्। 
    २०७९ को स्थानीय तह निर्वाचनमा नाउपा हुँदै अहिले रास्वपाबाट समानुपातिक सांसद बनेर मन्त्रीसम्मको यात्रा तय गरेकी हुन्।  
    दीपक साह, श्रममन्त्री
    महोत्तरी- २ बाट निर्वाचित रास्वपा सांसद दीपक साह पेशाले चिकित्कस हुन्। तर उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। 
    लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका साह लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पीएचडी स्कलर’ हुन्। 
    नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष समेत रहेका नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका गरेका छन्। उनले नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र १३ २०८२०९:४१:४७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology