Logo मंगलवार, श्रावण १२ गते २०८३
images

“जनताको भावना अनुसार काम गर्छु , दायाँबायाँ हेर्दिनँ ” : हरिप्रसाद भुसाल

“जनताको भावना अनुसार काम गर्छु , दायाँबायाँ हेर्दिनँ ” : हरिप्रसाद भुसाल

  • 456
    SHARES

  • “जनताको भावना अनुसार काम गर्छु , दायाँबायाँ हेर्दिनँ ” : हरिप्रसाद भुसाल

    बुटवल,चैत्र १० ।

    अर्घाखाँचीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद हरिप्रसाद भुसालको जीवन सङ्घर्ष, र मेहनतबाट गुज्रिएको छ । जितपछि उहाँले भन्नुभयो, “जनताको भावना अनुसार काम गर्छु । अरू दायाँबायाँ हेर्दिनँ ।” उहाँले संसदीय कामबाहेक काठमाडौँमा नबस्ने र सधैँ जनताको घरदैलोमै रहने स्पष्ट पार्नुभएको छ । चुनाव जितेपछि गाउँ नआउने नेताका गुनासोलाई आफूले दोहोरिन नदिने उहाँले दृढ अठोट गर्नुभयो ।

    २०४५ साल कात्तिक २४ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३, धारापानीमा जन्मेर सन्धिखर्कमा मिडिया सञ्चालन गर्दै आएका भुसाल लेखक र कलाकारका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँ नयाँ एफएम प्रालिको अध्यक्ष मात्र होइन, लायन्स क्लब अर्घाखाँचीका संस्थापक अध्यक्ष र अर्घाखाँची चेम्बर अफ कमर्सका महासचिवको जिम्मेवारी पनि समालिसक्नुभएको छ । सामाजिक र व्यावसायिक क्षेत्रको यो अनुभवले उहाँको नेतृत्व क्षमतालाई थप परिपक्व बनाएको देखिन्छ ।उहाँका लागि राजनीतिक यात्रा सहज थिएन । २०७३ सालमा विवेकशील पार्टीबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेर भुसाल पराजित हुनुभयो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेर करिब तीन हजार दुई सय मत प्राप्त गरे पनि सफलता हात परेन । hari-prasad-bhusal.jpgयी घटनाबाट उहाँ निराश हुनुभएन । गाउँ गाउँ पुगेर सङ्गठन निर्माण, कार्यकर्ता विस्तार र जनतासँग सम्बन्ध बलियो बनाउने कामलाई भुसालले निरन्तरता दिनुभयो ।

    पत्रकारिता र कलाकरिताबाटै आफ्नो जीवन धान्न सकिन्छ भन्ने विश्वास हरिप्रसाद भुसाललाई लाग्थ्यो । दुई दशकअघिसम्म आफ्नै जीवन असहज हुँदा उहाँले पत्रकारिता र कलाकारिता पेसालाई एकसाथ सुरु गर्नुभयो । पत्रकारितासँगै कलाकारितालाई अँगाल्दै उहाँ बजारका पसल र सडक किनारमा साइनबोर्ड लेखेर जीवन धान्नुहुन्थ्यो । ती दिनमा अक्षर कोर्ने हातले आज देशको कानुन निर्माण गर्ने जिम्मेवारी पाएको छ । यही यात्राले उहाँलाई फरक बनाएको छ । साधारण श्रमिकबाट उदाएका उहाँ अहिले ती श्रमिकको ऐन कानुन बनाउने संसद्सम्मको यात्रामा पुग्नुभएको छ ।

    अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तारमा उहाँले खेलेको भूमिका निर्णायक रह्यो । यही निरन्तरता, श्रम र जनतासँगको नजिकको सम्बन्धले यस पटक उहाँलाई विजयसम्म पु¥यायो । फागुन २१ को निर्वाचनमा उहाँ ३५ हजार २३ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पीताम्बर भुसालले २२ हजार ६४९ मत ल्याउनुभएको थियो । यसअघि एमालेका टोपबहादुर रायमाझीले जित्दै आएको क्षेत्रमा रास्वपाका भुसालले बाजी मार्नुभएको हो ।Hari-P-Bhusal.jpg

    स्पष्ट, निर्भीक र यथार्थ बोल्ने स्वभावका कारण भुसाल पछिल्लो समय विशेष गरी युवा पुस्तामाझ लोकप्रिय बन्दै जानुभएको छ । उहाँ कुनै ठुला राजनीतिक परिवारबाट आएका नेता हुनुहुन्न, बरु श्रम र सङ्घर्षले जीवन बनाएका प्रतिनिधि हुनुहुन्छ । त्यसैले उहाँको यात्रा धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ ।

    जिल्लाका अधुरा विकासनिर्माणलाई पूर्णता दिन आफूले हरसम्भव प्रयास गर्ने उहाँको प्रतिबद्धता छ । नवनिर्वाचित भुसालले भन्नुभयो, “साइनबोर्डमा अक्षर कोर्ने हातले अब देशको भविष्य लेख्ने जिम्मेवारी पाएको छु । म यहाँका मतदाताको भावनालाई सधैँ शिरमा राखेर काम गर्ने छु ।”   

    आफ्नो जितलाई उहाँले व्यक्तिगत उपलब्धि नभई अर्घाखाँचीवासीको आशा र विश्वासको जितका रूपमा लिनुभएको छ । उहाँले जानाजानी गल्ती नगर्ने, अनजानमा भएको गल्तीमा क्षमा गर्न आग्रह गर्ने र राम्रो काममा सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology