Logo बिहिवार, आश्विन १ गते २०८३
images

सानीभेरी नदी किनारमा एक किशोरीको शव फेला

सानीभेरी नदी किनारमा एक किशोरीको शव फेला

  • 366
    SHARES

  • सानीभेरी नदी किनारमा एक किशोरीको शव फेला

    रुकुमपश्चिम, चैत ८ ।

    आइतबार दिउँसो रुकुमपश्चिमको मुसीकोट नगरपालिका-१३ को छिवाङ नजिकै सानीभेरी नदी किनारमा एक किशोरीको शव फेला परेको छ । 

    उक्त शव बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १३ वर्षीया सपना ओलीको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

    सपनाका बुवा पूर्णबहादुर ओलीले छोरीको शवको पहिचान गर्नुभएको हो । डिएसपी पौडेलका अनुसार गत फागुन २५ गते बेलुकाबाट हराएका एकाघरका तीन बहिनी मध्य बेपत्ता रहेकी सपनाको शव हराएको १३ दिनपछि नदी किनारमा फेला परेको हो । 

    यसअघि फागुन २६ गते बिहान बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिकै सानीभेरी नदीमा दुई दिदीबहिनीको शव भेटिएको थियो । १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको शव भेटिएको १३ दिनपछि सपनाको शव फेला परेको हो । 

    सपनाको शव फेला परेसँगै एकैसाथ हराएका तीन दिदीबहिनीको शव सानीभेरीमै फेला परेको डिएसपी पौडेलले जानकारी दिनुभयो । सपनाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। 

    विवाहमा गएका थिए तीन बहिनी :

    प्रहरीका अनुसार मृतक तीन जना दिदीबहिनी आफन्तको विवाहमा गएका थिए । फागुन २५ गते मुसीकोट नगरपालिका–१ भलखोलागाउँमा आफन्तको विवाहमा गएका उहाँहरु नदीको जंघार तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीको भनाइ छ । गरालागोठबाट र भलखोला गाउँलाई सानीभेरी नदीले छुट्याएको छ । 

    बेपत्ता भएको भोलीपल्ट कल्पना उर्मीलाको शव करिब पाँच सय मिटर दुरीमा फेला परेको थियो । सपनाका अवस्था भने अज्ञात रहेको थियो । तीन किशोरीहरु बाँफिकोट गाउँपालिका–३ निवासी पूर्णबहादुर ओली र निराजन ओलीका छोरीहरु हुन् । पूर्णबहादुर र निराजन एकाघरका सहोदर (माईलो र साँइलो) दाजुभाइ हुनुहुन्छ । 

    उर्मीला र सपना मुसिकोट नगरपालिका–१ मा रहेको त्रिपुरा माविका कक्षा ६ मा अध्ययरत थिए भने कल्पना स्थानीय जनविकास आविमा कक्षा ५ मा अध्ययनरत छात्रा हुन् । निराजनका चार सन्तान मध्य उर्मीला माईली र कल्पना कान्छी छोरी हुन् । निराजन रोजगारीका लागि भारतमा जानुभएको छ । पूर्णबहादुरका पनि चार सन्तान मध्य सपना कान्छी छोरी हुन् । उहाँ ज्यामी काम गर्नुहुन्छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology