Logo बिहिवार, आश्विन १ गते २०८३
images

हार-जित ठूलो होइन, आत्मसमीक्षाबाटै पार्टी बलियो बन्छ : निर्मला क्षेत्री

हार-जित ठूलो होइन, आत्मसमीक्षाबाटै पार्टी बलियो बन्छ : निर्मला क्षेत्री

  • 2.6K
    SHARES

  • हार-जित ठूलो होइन, आत्मसमीक्षाबाटै पार्टी बलियो बन्छ : निर्मला क्षेत्री

    बुटवल,फागुन २५।

    नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभाग सचिव निर्मला क्षेत्रीले हालै सार्वजनिक भएको चुनावी मतपरिणामलाई लिएर राजनीतिक दल र कार्यकर्ताहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन् ।

    उनले लोकतान्त्रिक अभ्यासमा हार र जित दुवैलाई समान रूपमा स्वीकार गर्दै आत्मसमीक्षाबाट अघि बढ्नुपर्नेमा जोड दिँदै भावनात्मक प्रतिक्रियाभन्दा परिपक्व राजनीतिक संस्कार आवश्यक रहेको बताएकी छन् ।

    नेत्री क्षेत्रीले चुनावलाई लोकतन्त्रको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै संघर्षबिना राजनीति सम्भव नहुने बताइन् । “चुनाव भनेको प्रतिस्पर्धा हो, प्रतिस्पर्धामा हार–जित हुनु स्वाभाविक हो । जीवन जस्तै राजनीतिमा पनि कहिले सफलता प्राप्त हुन्छ भने कहिले असफलताबाट सिक्नुपर्ने अवस्था आउँछ,” उनले भनिन् । हारलाई निराशाको कारण बनाउनु भन्दा त्यसलाई पाठ र अनुभवको रूपमा ग्रहण गर्नुपर्ने उनले स्पष्ट गरिन् ।

    लुम्बिनी प्रदेश सभाकी पूर्वसदस्य क्षेत्रीले विशेषगरी नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई निराशा र हताशामा नडुब्न आग्रह गर्दै आत्मसमीक्षाबाट नयाँ ऊर्जा सिर्जना गर्नुपर्नेमा जोड दिइन् । “पार्टी हारेको भन्दै निराश भएर बस्ने समय होइन ।

    हारबाट गम्भीर रूपमा पाठ सिकेर अझ संगठित, सक्षम र प्रभावकारी रूपमा अघि बढ्ने संकल्प गर्नुपर्छ,” उनले भनिन् । साथै उनले जित पनि स्थायी नहुने भन्दै सफलता प्राप्त गर्दा अहंकार नदेखाउने र हार्दा आत्मसमालोचना गर्ने राजनीतिक संस्कार विकास गर्नुपर्ने बताइन् ।

    राजनीतिमा स्वस्थ प्रतिस्पर्धा अपरिहार्य रहेको उल्लेख गर्दै क्षेत्रीले सबै राजनीतिक दललाई हार-जितलाई समान रूपमा स्वीकार गर्ने परिपक्वता देखाउन आग्रह गरिन् । 

    कांग्रेसको महासमिति सदस्य समेत रहेकी क्षेत्रीले विशेषगरी हालको चुनावी परिणाममा उत्साहित देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै उनले जितको उत्साहलाई उन्मादमा रूपान्तरण नगर्न चेतावनी दिइन् । “जितेको दलले पनि संयम गुमाउनु हुँदैन, विरोधीलाई सम्मान गर्न सिक्नुपर्छ  । लोकतन्त्रमा आजको जित भोलिको चुनौती बन्न सक्छ,” उनले स्पष्ट पारिन् ।
    नेत्री क्षेत्रीले नेपाली कांग्रेसको लामो लोकतान्त्रिक अभ्यास र राजनीतिक परिपक्वतालाई स्मरण गराउँदै आगामी दिनमा पार्टी अझ मजबुत रूपमा जनतामाझ जाने विश्वास व्यक्त गरिन् । उनका अनुसार चुनावी परिणामले पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएको छ, जसलाई सही ढंगले उपयोग गर्न सके कांग्रेस झन् बलियो भएर पुनः उदाउनेछ ।

    राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्रीले व्यक्त गरेको धारणा केवल कांग्रेसभित्रका कार्यकर्ताका लागि मात्र नभई समग्र नेपाली राजनीतिका लागि पनि महत्वपूर्ण सन्देश हो । हार-जितलाई समान रूपमा स्वीकार गर्दै आत्मसमीक्षाबाट अघि बढ्ने संस्कारले मात्रै लोकतन्त्रलाई स्वस्थ र बलियो बनाउने उनको भनाइले अहिलेको राजनीतिक परिवेशमा गम्भीर अर्थ राखेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, फाल्गुण २५ २०८२०९:५८:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology