बुटवल,फागुन १७ ।
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने निर्वाचनमा रुख चिह्नमा मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक अपिल जारी गर्दै खड्काले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा मतदान गर्न अपिल गरेका हुन्
खड्का यसपटक चुनावी मैदानमा छैनन् । हालसम्म उनी मौन रहेका थिए । विशेष महाधिवेशनपछि गगन कुमार थापा सभापतिमा निर्वाचित भएपछि खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफू रिट निवेदक भएको भन्दै उनले निर्वाचन नउठ्ने घोषणा गरेका थिए ।त्यसयता मौन रहेका खड्काले आइतबार कांग्रेसको पक्षमा मतदान गर्न अपिल गरेका हुन् ।
‘फागुन २१ गते बिहान ७ बजे देखि शुरू हुने मतदानमा कर्णाली प्रदेश लगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभइ प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फका दुवै मतपत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न रुखमा आफ्नो बहुमूल्य मतको स्वस्तिक छापको लालमोहर लगाइ भारी बहुमतका साथ विजयी गराइ दिनुहुन हृदयदेखि नै हार्दिक विनम्र अनुरोध गर्दछु’, खड्काले भनेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)