Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही ४ : शुक्ला आठौँ पटक निर्वाचनमा,टक्कर दिदै नयाँ अनुहार

रुपन्देही ४ : शुक्ला आठौँ पटक निर्वाचनमा,टक्कर दिदै नयाँ अनुहार

  • 357
    SHARES

  • रुपन्देही ४ : शुक्ला आठौँ पटक निर्वाचनमा,टक्कर दिदै नयाँ अनुहार

    बुटवल,फागुन १५ ।

    प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुपन्देहीको क्षेत्र नम्बर ४ लाई चासोका साथ हेरिएको छ । यस निर्वाचन क्षेत्रमा हेभीवेट उम्मेदवारका रूपमा जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला छन् । उनी आठौँ पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

    शुक्लालाई प्रदेश सभाबाट राजीनामा दिएर दल परिवर्तन गरी उम्मेदवार बनेका रास्वपाका कन्हैया बनियाँ, यस अघिको निर्वाचनमा तेस्रो बनेका जनमत पार्टीका भूपेन्द्र यादव र कांग्रेसबाट टिकट नपाएपछि अन्तिममा एमाले प्रवेश गरेर उम्मेदवार बनेका प्रमोद यादव, कांग्रेसका नयाँ र अध्ययनशील युवा आशुतोष मिश्रले चुनौती दिएका छन् ।तुलनात्मक रूपमा यो निर्वाचन क्षेत्र रुपन्देहीको कम विकसित क्षेत्र मानिन्छ । यहाँ २०७९ सालमा लोकतान्त्रिक समाजवादी पार्टीबाट  शुक्ला निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका प्रमोद यादव दोस्रो र जनमत पार्टीका भूपेन्द्र यादव तेस्रो स्थानमा रहे ।

    उक्त निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएर जसपा नेपाललाई सघाएको थियो ।समानुपातिक मततर्फ लोकतान्त्रिक समाजवादी पार्टीले त्यतिबेला २२ हजार ३७ मत प्राप्त गरेको थियो । यस्तै, नेपाली कांग्रेसले १८ हजार ८३२, जनमत पार्टीले १६ हजार ४५८, एमालेले २ हजार ८२३ र रास्वपाले एक हजार ६५७ मत प्राप्त गरेका थिए ।त्यो बेला लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रदेश सभातर्फ निर्वाचित कन्हैया बनियाँ प्रदेश सभाबाट राजीनामा दिएर अहिले रास्वपाबाट उम्मेदवार बनेका छन् । बनियाँ यसअघि शुक्लाकै खास सहयोगी थिए भने अहिले यी दुईबिचको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

    विगतका निर्वाचन परिणामलाई हेर्ने हो भने यहाँ एमालेको खासै संगठन देखिँदैन । यो निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन दर्ताको केही अघिमात्र कांग्रेसका नेता प्रमोद यादवलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको हो ।रास्वपाका उम्मेदवार बनियाँ र एमालेका उम्मेदवार यादव अन्तिम समयमा आफ्नो साविकको पार्टी त्यागेर उम्मेदवार बनेका हुन् । अन्तिम समयमा दल परिवर्तन गरेर आउने उम्मेदवारलाई मतदाताले पत्याउने सम्भावना कम हुने समरीमाई–७, वेतकुइयाका जगन्नाथ कुर्मीले बताए ।रास्वपाका उम्मेदवार कन्हैया बनियाँ भने मर्चवारको विकासका लागि प्रदेश सभामा रहेरभन्दा प्रतिनिधि सभामा पुगेर धेरै काम गर्न सकिने भएकाले आफू उम्मेदवार बनेको बताउँछन् । अहिले देशभर नयाँ उत्साहका साथ रास्वपाको पक्षमा लहर आएकाले आफूले जित्ने उनको दाबी छ ।

    जनमत पार्टीका भूपेन्द्र यादवले अघिल्लो निर्वाचनमा आफू तेस्रो भए पनि अहिले पहिलो बन्ने आधार रहेको बताउँछन् । आफू वर्षौंदेखि निरन्तर निर्वाचन क्षेत्रमा खटिरहेको उल्लेख गर्दै उनले मतदाताको विश्वास पाइरहेको दाबी गरे ।यस्तै २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौँ पटक चुनावी मैदानमा छन् । उनी मर्चावरको विकासमा आफूले गरेको योगदान नै जितको आधार रहेको दाबी गर्छन् ।अघिल्लो निर्वाचनमा निर्वाचित शुक्लाको मत अहिले उनकै पार्टी छाडेर रास्वपामा गएका कन्हैयाले काट्दा त्यसको लाभ आफूलाई हुने यादवको भनाइ छ । पूर्व राज्यमन्त्री ओमप्रकाश यादव अहिले जनमत पार्टीमा आएपछि आफूलाई थप सहज भएको उनले बताए ।एमालेका उम्मेदवार प्रमोद यादव २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी फेरि जित फर्काउने प्रयासमा छन् ।

    यस्तै २०४८ सालदेखि निरन्तर उम्मेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला आठौँ पटक चुनावी मैदानमा छन् । उनी मर्चावरको विकासमा आफूले गरेको योगदान नै जितको आधार रहेको दाबी गर्छन् ।नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले तुलनात्मक रूपमा विगतदेखि यहाँ कांग्रेसको संगठन केही बलियो देखिएको बताउँदै आफू लामो समयदेखि स्थानीयसँग भिजेको र विकासको स्पष्ट खाका भएकाले जित्ने दाबी गरे ।

    यस क्षेत्रमा विगतमा मधेसवादी दलबिच मुख्य प्रतिस्पर्धा हुन्थ्यो । यस पटक अवस्था बदलिएको छ । यहाँ खासगरी दलहरू भन्दा पनि व्यक्तिको आधारमा मत आउने इतिहास देखिन्छ ।२२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्र मधेसी समुदायको बाहुल्यता छ । यो निर्वाचन क्षेत्रको अधिकांश भूभाग भारतको सीमासँग जोडिएको छ । मर्चवारीमाइ, कोटहीमाई, सम्मरीमाई पूरै र मायादेवी गाउँपालिकाका अधिकांश वडा यस क्षेत्रमा पर्छन् । यहाँ १ लाख १६ हजार १ सय ७२ मतदाता छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, फाल्गुण १६ २०८२०२:५१:३२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology