बुटवल,माघ २४-
नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री दलजीत श्रीपालीले प्रधानमन्त्री ओली दलित तथा उत्पीडित जनताको विरुद्धमा रहेको आरोप लगाएका छन ।
दुई तिहाई नजिकको सरकारको नेतृत्व गरेको बेला उत्पीडीत वर्ग र समुदायको अधिकार लेखिएको संविधान प्रधानम्नत्री ओलीले च्यातेको उनले बताए । प्रचण्ड–नेपाल समूहको नेपाल दलित मुक्ति संगठन रुपन्देहीको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता श्रीपालीले ओली नेतृत्वको सरकार र समूह दलित मुक्ति विरोधी भएको आरोप लगाए ।
उनले परिवर्तनका पक्षधरहरु अहिले प्रतिगमनको पक्षमा लाग्दा वर्षोदेखिको उत्पीडितहरुको मुद्धा ओझेलमा पर्ने बताए । दलितको पृष्ठभूमिबाट गएका दलित नेताहरु प्रधानमन्त्रीको फोटोकपि मात्रै बनेको उनको भनाई छ । ‘प्रतिगमनमा साथ दिनेहरु दास हुन्’ उनले भने । उनले प्रधानमन्त्री ओलीलाई कुख्यात तानासाहको संज्ञा दिदै पूर्वमन्त्री श्रीपालीले अब अवशान नजिकै आइसकेको बताए । ‘अब प्रतिगमन हासिक्यो, प्रतिगमन विरुद्धको आन्दोलनमा जनताले दिएको साथले हामी जित्यौं’ उनले भने ।
दलित मुक्ति संगठनका सहइन्चार्ज समेत रहेका नेता श्रीपालीले दलित तथा उत्पीडित समुदाय सदैव प्रतिगमनका विरुद्धमा उत्रेको बताए । उनले निरकुंश राणा शासनदेखि, पञ्चायत, बहुदल र गणतन्त्र प्राप्तीको यूगसम्म आइपुग्दा दलित समुदायले ठूलो योगदान गरेको बताउँदै अहिले फेरी संविधानबाट प्राप्त उपलब्धी गुम्ने खतरामा रहेको बताए ।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा दलित अधिकारकर्मी गणेश विश्वकर्माले केपी ओली नेतृत्वको सरकारले दलितका लागि संविधानले दिएको अधिकार समेत कटौती गरेर संसद विघटनपछि भूमि दिने नक्कली कुरा गरेको आरोप लगाए । उनले संविधानको मौलीक हकमा दलितको अधिकार राखेर भूमिहिन दलितका लागि एक पटकका लागि जमिन दिने उल्लेख गरेपनि अहिले जागिर गरेको, भाडामा बसेको जस्ता प्रावधान राखेर बञ्चित गर्न खोजेको बताए ।
‘एनजिओमा काम गरेमा, जागिर खाएमा, भाडा तिरेमा जस्ता प्रावधान राखिएको छ, मान्छे बाँच्न त केहि न केहि त गर्न पर्ला नी, कि आकाशमा झन्डिएकालाई जमिन दिन खोजेको हो’ नेता विश्वकर्माले प्रश्न गरे । उनले प्रधानमन्त्रीले बहुमतमा छदा नै आफ्नो कुर्ची भाँचेर प्रतिगमनकारी कदम चालेको बताए ।
संविधानसभा सदस्य तथा दलित अधिकारकर्मी विनोद पहाडीले प्रधानमन्त्री ओल उत्पिीडत र दलित समुदायको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिने आरक्षण विरोधी पात्र भएको टिप्पणी गरे । उनले कोरोनाकालमा समेत दलितको हत्या, बलत्कार जस्ता क्रुर अपराध हुँदा सरकार मौन बसेको बताउँदै अहिले संसद विघटनपछि भूमिहिनलाई जग्गा दिने नाटक गरिएको बताए ।
‘तीन वर्षसम्म दलित आयोग खाली राख्ने, भूमि सम्बन्धि तथ्यांक संकलन नगर्ने, यो गर्नलाई होईन’ नेता पहाडीले भने । उनले प्रधानमन्त्रीले पानीमा पौडिदा पनि आरक्षणका नाममा धकेल्नुपर्ने जस्ता अभिव्यक्ति दिएकाले प्रतिगमनकारी कदमको रक्षक बन्नु दलितकै लागि घातक हुने बताए ।
कार्यक्रममा नेकपा प्रचण्ड–नेपाल रुपन्देहीका सचिव निर्मल जिसिले प्राप्त अधिकारमाथि धावा बोल्ने गरि संसद विघटन भएकाले यसले उत्पीडित दलित समुदायको अधिकारलाई कुण्ठित गर्न सक्ने बताए ।
दलित आन्दोलनको गौरव र मुक्तिको ऐजेन्डा स्थापित गर्नका लागि पनि सच्चा कम्यूनिष्ट पार्टी चिन्नुपर्नेमा उनको जोड छ । नेकपा दाहाल नेपालका नेता राजु गुरुङले पञ्चहरुको विपक्षमा आन्दोलन गर्दा ढुंगा हान्ने नेता ओली नेतृत्वको दलितको महान नेता भएको आरोप लगाए । उनले दलित समुदाय अब रैतीबाट माथि उठ्ने बेला आएको बताए ।
कार्यक्रममा नेताहरु दीपा विक, खेम लुईटेल, अभिराम विश्वकर्मा, जुद्ध विश्वकर्मा, एचवि रम्तेल, रेवन्त विश्वकर्मा, सुरेन्द्र श्री, ओम प्रकाश विके, जंग बहादुर बुढाप्रीथि लगायतले बोल्दै संसद विघटन असंवैधानिक भएकाले आन्दोलनमा उत्रनुपरेको बताएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)