बुटवल,माघ २४-
प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर प्रदर्शन गरेका छन्। पार्टीका १८ शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध एकैपटक विरोध प्रदर्शन गरेका हुन्। रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा बिरोध प्रदर्शन भएको छ।
शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहादेखी मिलनचोकसम्म बुटवल-भैरहवा साइटतर्फको सडकको लेन पुरै ओगटेर बिरोध प्रदर्शन गरे ।

उनीहरूको प्रदर्शनले बुटवलको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बनेको थियो । सवारी साधनहरूलाइ अर्को साइडबाट गुडाइएको थियो ।
मुखमा कालो माक्स,हातमा कालो पट्टी बिभिन्न प्ले कार्ड र व्यानर सहित उनीहरू सडकमा उत्रिएका हुन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हो ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।
नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।


कांग्रेसले प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्ले गरेको निर्णयमा अझै आन्दोलन चर्काउने जानकारी दिएको छ ।
‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथग्रहण ,दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ,जारी रहने छ,’कांग्रेसले भनेको छ ।
बिराेधसभामा कांग्रेसका जिल्ला तथा स्थानीयतहका नेता,शुभेच्छुक संस्थाहरुका नेता तथा कार्यकर्ताको बाक्लाे सहभागिता रहेको थियाे ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)