तिलोत्तमा, माघ ७ ।
रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ ।
विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३९ जनाले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।बुटवल ब्लड बैंकका प्राविधिकहरु निरञ्जन राजभण्डारी, रोशन पुन र प्रिती थापाले प्राविधिक संयोजन गर्नुभएको थियो ।
विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीमा मानवीय सेवा भावको विकास गर्न यसले मद्धत गर्ने बताउनुभयो ।
रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका महामन्त्री टेक बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइले सहभागिताको प्रमाणपत्र वितरण गर्नुभएको थियो । यसैबीच, शान्ति नमुनाले वार्षिकोत्सव तथा अभिभावक दिवशको मुल समारोह माघ ९ गते गर्ने भएको छ ।
कार्यक्रममा छात्रवृति वितरण, शिक्षक तथा कर्मचारी सम्मान, पत्रकार सम्मान, नानी मुखपत्रको विमोचन, पुरस्कार वितरण, सांस्कृतिक प्रस्तुती लगायतका कार्यक्रम गरिने विद्यालयका सूचना संयोजक दिनेश खड्काले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)