बुटवल,माघ ४ ।
रुपन्देहीको तिलोत्तमा-५, मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा विद्यार्थीहरूको सिर्जनशीलता र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने उद्देश्यले 'पढाइ महोत्सव' तथा 'विज्ञान प्रदर्शनी' सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रारम्भिक कक्षाका बालबालिकादेखि माध्यमिक तहका विद्यार्थीहरूले आ-आफ्नो क्षमता प्रदर्शन गरेका थिए ।
विद्यालयले कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि विशेष 'पढाइ महोत्सव' को आयोजना गरेको थियो । बालबालिकामा पढ्ने बानीको विकास गर्ने र शब्द भण्डार बढाउने उद्देश्यले सञ्चालित सो महोत्सवमा विद्यार्थीहरूले बालकथा वाचन, चित्र वर्णन, शब्द पजल र सामूहिक गायन प्रस्तुत गरेका थिए । साना बालबालिकाहरूले हाउभाउ र अभिनयसहित कथा सुनाउँदा उपस्थित अभिभावक तथा शिक्षकहरू मन्त्रमुग्ध भएका थिए ।
त्यस्तै, माध्यमिक तहका विद्यार्थीहरूले निर्माण गरेका विभिन्न वैज्ञानिक उपकरण र मोडेलहरूको 'विज्ञान प्रदर्शनी' पनि सोही अवसरमा सम्पन्न भयो । विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूले आफ्नै प्रयासमा तयार पारेका करिब २० भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिएका थिए ।
प्रदर्शनीमा रोबोटिक्स र सेन्सर प्रविधि ,नवीकरणीय ऊर्जा ,पर्यावरण संरक्षण, आधुनिक कृषि क्षेत्रका प्रविधिको नमुना प्रदर्शनीमा राखिएको थियो ।
कार्यक्रमको अवलोकन गर्दै शिक्षाविद् तथा सरोकारवालाहरूले शिक्षालाई केवल पाठ्यपुस्तकमा मात्र सीमित नराखी यस्ता प्रदर्शनीले विद्यार्थीलाई व्यावहारिक र जीवनोपयोगी बनाउने धारणा राखेका थिए । तिलोत्तमा नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले विद्धार्थीमा नविन सोच विकासका लागि यस्ता कार्यक्रम फलदायी रहने बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भन्नुभयो, "हाम्रो मुख्य उद्देश्य विद्यार्थीभित्र लुकेको प्रतिभालाई बाहिर ल्याउनु हो । पढाइ महोत्सवले जग बलियो बनाउँछ भने विज्ञान प्रदर्शनीले भविष्यका वैज्ञानिकहरू तयार पार्न मद्दत पुर्याउँछ ।" प्रदर्शनी अवलोकनका लागि विद्यार्थी, अभिभावक र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।
यसैबिच खेल सप्ताहमा सञ्चालित विभिन्न खेलहरूमा उत्कृष्ट हुने विद्धार्थीहरूलाइ पुरस्कार वितरण गरिएको छ ।
विद्धालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराइ, सदस्यहरू बुद्धि प्रसाद डुम्रे, हरि पाण्डेय,शिक्षक अभिभावक संघका सदस्य सुनिता पाण्डेय भुसाल,अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेयले पुरस्कार वितरण गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)