बुटवल, पुस २९ ।
बुटवलको ढबाहमा भएको तारा (आर्चरी) प्रतियोगिता २०८२ को उपाधी देवदह आर्चरी क्लब खैरेनी ले जितेको छ ।
छन्त्याल समुदायको महान पर्व म्हिेलाङे सोङती माघे संक्रान्तिको अवसरमा नेपाल छन्त्याल संघ जिल्ला समिति, रुपन्देहीको आयोजनामा ढबाहमा भएको प्रतियोगिताको उपाधी देवदह आर्चरी क्लब खैरेनीले जितेको हो ।
जीतसँगै देवदहले नगद २० हजार, कप, मेडल र प्रमाणपत्र हात पारेको छ । पुस २५ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ टिम सहभागी भएका थिए । यस्तै प्रतियोगितामा थकाली आर्चरी क्लब बुटवल द्वितीय, छन्त्याल आर्चरी क्लब रुपन्देही तृतीय भएको नेपाल छन्त्याल सँघका रुपन्देही अध्यक्ष भरतबहादुर छन्त्यालले जानकारी दिए ।
उनीहरुले क्रमश १५ हजार, १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष छन्त्यालले बताए । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी यमबहादुर पुर्जा भए भने उत्कृष्ट खोले पनि पुर्जा नै घोषित भए । उनले उत्कृष्ट खेलाडीको रुपमा २ हजार र उत्कृष्ट खोलेको रुपमा १५०० नगद पुरस्कार पाए । 
विजयी खेलाडीलाई भूमि आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का वडा सदस्य गंगा बि.क., छन्त्याल संघका केन्द्रिय उपाध्यक्ष योगेन्द्र छन्त्यालले पुरस्कार वितरण गरेको थिए ।
प्रतियोगिता अन्तर्गत २ दिन छन्त्याल संघका ५ टिम बीच आन्तरिक प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले धनुषवाण हानेर उद्घाटन गरेका थिए । कार्यक्रम संघका जिल्ला अध्यक्ष भरतबहादुर छन्त्यालको सभापतित्व, सचिव नन् छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)