काठमाडौं ,पुस २८ ।
कांग्रेस महामन्त्री गगन थापाले विशेष महाधिवेशन उद्घाटनमा भनेका १५ महत्त्वपूर्ण कुरा बुदागत रूपमा
– अहिले यहाँ विशेष महाधिवेशन हुँदै गर्दा शीर्ष नेताहरू छलफलमा रहेको सुनेको छु। त्यो छलफलमा नेताहरूले हामी दुई जना महामन्त्रीको विषयमा नकारात्मक कुराहरू सुनाउनुभएको हुनसक्छ। शेरबहादुर दाइ, नेताहरूले के भनिरहनुभएको होला भने यी दुइटा महामन्त्रीले नचाहिने काम गरिरहेका छन्।
अराजनीतिक काम गरेर तपाईंलाई दुख दिइरहेका छन्। तर सम्झनुस्, भदौ १८ गते यिनै दुइटा महामन्त्री तपाईंकहाँ आएका थिए। भदौ २२ गते पनि तपाईंकहाँ आएका थिए। २४ गते बिहान पनि सबभन्दा पहिला तपाईंसँग सम्पर्क गर्ने यिनै दुइटा महामन्त्री थिए। भदौ २५ गते घटना भइसकेपछि सबभन्दा पहिले वक्तव्य निकाल्न आँट गर्ने पनि यिनै दुइटा महामन्त्री थिए।
– शेरबहादुर दाइ, प्रजातन्त्रका लागि तपाईंको योगदान ठूलो छ। तर समय आएको छ; अब तपाईंले आराम गर्नुपर्छ, छाड्नुपर्छ, मार्गप्रशस्त गर्नुपर्छ।
– शेरबहादुर दाइ, तपाईंले नै मंसिरभित्र महाधिवेशन गर्नू, अब मैले कार्यवाहक दिएँ, पार्टीको नेतृत्व छाडेँ भनेर भन्नुभएको होइन? तपाईंले त्यसो भन्नुभएको दिन कांग्रेसका मान्छेले मात्र होइन, कांग्रेस बाहिरका मान्छेले पनि नेता हुनु त शेरबहादुर देउवाजस्तो भनेका होइनन्?
– भदौ २३ र २४ को जेनजी आन्दोलनमा नवयुवाहरूको मात्र होइन, देशभरका लाखौं लाख नागरिकको आक्रोश सडकमा अभिव्यक्त भएको हो। राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो-बेबीहरूको राज देखेर देशभरका लाखौं लाख मानिस रिसाएका हुन्। र, आम नागरिकको त्यही रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो।
– जेनजी आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए। त्यो सरकारमा को थिए? हामी थियौं। उनीहरू संसदसँग रिसाएका थिए। त्यो संसदमा को थिए? हामी थियौं। उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन्, यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्।
– पछिल्लो समयका राजनीतिक कार्यक्रममा यति ठूलो जनसहभागिता र यति ठूलो चासो मैले देखेको थिइनँ। तपाईंहरूको उपस्थितिले पनि देखाउँछ, यो महाधिवेशन त्यसै विशेष भएको होइन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर देखाउनुछ।
– नेपाली कांग्रेसको स्थापना २५/२६ वर्षका केटाकेटीले गरेका थिए। त्यतिखेर उनीहरूले मन्त्री, प्रधानमन्त्री वा सभापति बन्न पार्टी निर्माण गरेका थिएनन्। यो देशलाई अँध्यारोबाट उज्यालोतिर लैजाने चाहनाले निर्माण गरेका थिए।
– नेपाली कांग्रेस चुनावका लागि बनेको पार्टी होइन, न यो चुनावबाट बनेको पार्टी हो। कांग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय पार्टी र राष्ट्रिय शक्तिमा फरक छ। राष्ट्रिय पार्टी चुनावबाट बहुमत ल्याएर बन्छ, तर राष्ट्रिय शक्ति जिम्मेवारीले बन्छ।
– नेपाली कांग्रेस चुनावको जित-हारमा सीमित हुनु हुँदैन, यसले संकटको समय देशलाई दिशा देखाउने, मार्गप्रशस्त गर्ने काम गर्छ। अहिले देशले नेपाली कांग्रेसबाट त्यही जिम्मेवारी खोजेको छ। समाजमा विश्वास जगाउने जिम्मेवारी खोजेको छ।
– यो विशेष महाधिवेशन कहाँ गएर टुंगिन्छ मलाई थाहा छैन। यो पार्टी सदस्यहरूले आह्वान गरेको विशेष महाधिवेशन हो। म आफै यहाँ पाहुना बनेर आएको हुँ। भोलि महाधिवेशनको हाउसले यसलाई कसरी अगाडि बढाउने भन्ने निर्णय लिन्छ। हाउसले जे निर्णय लिन्छ, त्यसलाई हामीले मान्नुपर्छ, सम्मान गर्नुपर्छ।
– विशेष महाधिवेशनले एउटा कुरा स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन, ज्युँदा मानिसहरूको पार्टी हो। यहाँ प्रश्न मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्दा बोल्न छाड्ने कोही पनि छैन। हामी सबै बराबर छौं। यहाँ प्रश्नहरू छन्। जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा प्रश्न गर्न सक्दैन। प्रश्न गर्न नसक्नेले उत्तर खोज्न सक्दैन, समाधान दिन सक्दैन।
– पछिल्लो समय हाम्रो पार्टीमा धेरै नराम्रा प्रवृत्तिहरू देखिए। चुनाव एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने। सरकार बनाउन जे पनि गर्ने। सरकारबाट बाहिर बस्नुपर्यो भने सबै कुरा सकिएजस्तो गर्ने। यही प्रवृत्ति देखेर पार्टी सदस्यहरूले तिमीहरूको चालढाल ठिक छैन, तिमीहरू बदलिनुपर्छ भनेका हुन्। यही कुरा बोकेर महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन आह्वान गरेका हुन्।
– लामो समयदेखि चलेको पार्टी सञ्चालनको तरिका आजबाट भत्कियो। भोलि जोसुकै आओस्, अब कसैले पनि पार्टी सदस्यहरूलाई हेप्न सक्दैन। तल बस्ने सदस्यले माथि बस्नेलाई निहुरिएर सलाम गर्नुपर्दैन। तल बस्ने साथीहरूलाई पनि गाउँका साथीहरूले चुनेर पठाउनुभएको हो। यो कुरा पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको छ।
– म बिपीको छोरा होइन, म गणेशमानको छोरा पनि होइन। मेरो शरीरमा बिपीको रगत बगेको छैन, गणेशमानको रगत बगेको छैन। तर मसँग बिपीको विचार र गणेशमानको साहस छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)